राष्ट्रिय नाटक महोत्सवमा “जीवैमामा लोकगीति–नाटक”

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा मिति २०७६ असार २ गतेदेखि आयोजना गरिएको “राष्ट्रिय नाटक महोत्सव–२०७६” को तेश्रो दिन आज “जीवैमामा लोकगीति–नाटक” मञ्चन हुन लागेको छ । जीवैमामा लोकगीति–नाटक मगर अध्ययन केन्द्र, ताल्छिखेल, ललितपुरले प्रस्तुत  गर्न लागेको हो । यस नाटकको निर्देशन भीम मास्की रानाले गर्नु भएको हो भने नाटकको संयोजन तथा नाटक सम्पादन डा. मीन श्रीस मगरले गर्नु भएको नाटकमा स्याङ्गजा जिल्लाका कलाकारहरुको प्रस्तुति रहनेछ । 
वसन्त ऋतुको पूर्वसन्ध्यामा न्यानो बढ्दै जाने र खेतीपातीको कामबाट पनि फुर्सदिलो अवस्था रहने हुँदा फूल तथा नवपालुवा सिर्जना गर्ने प्राकृतिक वातावरणले वैंशालु मनहरूलाई प्रेममय बनाइदिन्छ । त्यसैले माघ–फागुनलाई प्रणयोत्सवको समय वा विवाहको महिना मान्ने परम्परा रहिआएको छ । यिनै यथार्थताहरू जीवैमामा लोकगीति–नाटकमा प्रतिविम्बित भएका छन् । मगर समाजमा मामाचेली विवाह परम्पराले आजसम्म निरन्तरता पाइरहेको छ । यिनै विषय–वस्तुको केन्द्रीयतामा यो गीतिनाटक प्राचीन समयदेखि प्रचलनमा आएको बुझिन्छ । फागुन पूर्णिमाको अघिल्लो साँझदेखि गाउँटोलको पायक पर्ने स्थान वा गाउँको प्रमुख व्यक्तिको घरआँगनमा युवतीहरू भेला भएर चार साँझसम्म जीवैमामा प्रस्तुत गरेर समापन गर्ने चलन पाइन्छ । विवाह योग्य उमेर भएपछि सगुन लिएर मामाकी छोरी माग्न जाने, माइती–चेली पक्ष बीचमा विवाहका विषयमा छलफल हुने, फागुन महिनामा अनुकूल दिनको छनोट गर्न लामाझांक्री वा जैसी (पत्रो हेर्न जान्ने व्यक्ति) को सहयोग लिने, शुभ दिन पारेर माइती पक्षले चेली पक्षलाई आºनी छोरी दिनका लागि मञ्जुर हुने तथा चेली पक्ष (भान्जा) पक्षले सय पचास साही माइजू (जयसराकी आमा) लाई बुझाएर खोन (बुहारी) बनाउन घरमा भित्रायाउने जस्ता मौलिक परम्परागत मान्यतालाई  प्रस्तुत लोकगीति–नाटकमा मुखरित भएको पाइन्छ । मामाकी छोरीलाई मागेर जन्ती बिना नै साँझपख घरमा भित्रायाएर टीकाटालो गराई केटापक्षबाट विवाहलाई औपचारिकता प्रदान गर्ने तथा रातभरि झाम्रे बसेर विवाह घरबाट दान छुटाउने प्रचलनलाई यो नाटकमा समेटिएको छ । यसै अवसरमा युवतीहरू नै पुरुषको भेषमा सजिएर लाहुरे नाच प्रस्तुत गर्दछन् । यसलाई लाहुरे परम्परा वा गोर्खा भर्तीको प्रभावको प्रतिबिम्बको रुपमा बुझ्न सकिन्छ । अर्कोतर्फ यो दुलाहको घरमा प्रस्तुत गरिने रत्यौलीको बिम्ब पनि हो । केटापक्षको घरमा दुलही भिœयाएपछि मात्र केटीपक्षको घरमा ठेकीखाने वा ढोगभेट विधि गरेर विवाहलाई औपचारिकता प्रदान गर्ने परम्परालाई पनि प्रस्तुत नाटकले प्रष्ट्याइएको छ । घरबाट माइतीतिर जन्ती जाँदा दुलहीले हातमा ठेकी समाएर दुलहासँगै जाने परम्परा अन्य समुदायका लागि अनौठो लाग्न सक्दछ । जन्ती बिना साँझपख पाँच–सात जना ठेकी सहित माइती पक्षको घरमा पुगेर विवाहका सबै संस्कार विधि सम्पन्न गरी सोही साँझ घर पर्खने मगर जातिको मौलिक परम्परालाई यो नाटकको माध्यमबाट जीवन्त रुपमा प्रस्तुत गरिएको हुन्छ ।   घोडा नाच, कलश नाच आदि गण्डकी क्षेत्रका चौवीसी राज्यकालीन मगर राजाहरूको राजर्षी ठाँटको बिम्ब हो । मामाचेली विवाहमा आधारित जीवैमामा लोकगीति–नाटकमा महिलाहरूको मात्र भूमिका देखिनुले प्राचीन मातृसत्तात्मक समाजको झल्को दिन्छ । वर्तमान परिवर्तित सामाजिक परिवेशमा मामाचेली विवाह परम्परा कमजोर बन्दै गइरहेको हुँदा जीवैमामा गीतिनाटकको सान्दर्भिकता र औचित्य पनि समाजमा हराउँदै गएको छ । त्यसैले बहुलवादी नेपाल समाजको एउटा बहुल्य रत्न जीवैमामाको संरक्षण र सम्वद्र्धनको आवश्यकता चुनौतिको रुपमा खडा भएको देखिन्छ ।    

कलाकारहरू
१. डा. मीन श्रीस मगर - नाटक सम्पादक  
२. भीम मास्की राना - निर्देशक
३. दिलमाया राना  
४. कुन्ती राना लसर्घाबेसी 
५. उमादेवी 
६. रोशा सारु 
७. रेमीसरा गाह 
८. सुनिता राना  
९. शोभा सिंह लसर्घाबेसी
१०. सिर्जना गाह लसर्घाबेसी
११. तिलकुमारी राना  
१२. दौकई सिंह