नेपाली लोकनृत्य क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु’ विषयक विचार गोष्ठी सम्पन्न

माघ ९, काठमाडौं । पाश्चात्य गीत संगीत तथा नृत्य नेपाली समाजमा हावी हुने क्रम बढ्दो छ । नयाँ युवा पुस्ताहरु पाश्चात्य संस्कृतिमा रमाउने प्रचलन गढ्दै गएको सन्दर्भमा नेपाली लोक नृत्यको संरक्षण गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागले गण्डकी प्रदेशस्थित तनहँमा नेपाली लोकनृत्य क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु’ विषयक विचार गोष्ठी कार्यक्रम गत शनिबार सम्पन्न गरेको छ । 
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङज्यूको प्रमुख आतिथ्यतामा आयोजित विचार गोष्ठीमा  बोल्दै मन्त्री गुरुङले गण्डकी प्रदेश नेपाली लोक कलाको लागि उर्बर भूमि रहेको बताउँदै साविकका गण्डकी र धौलागिरी अञ्चलमा उत्पत्ति भएका मौलिक संस्कृतिहरुले नेपालको कला क्षेत्रको प्रतिनिधित्व गरेको उल्लेख गर्नु भयो ।
त्यस्तै गण्डकी प्रदेश सांसद आशा कोइरालाले लोक नृत्य क्षेत्रमा देखिएका समस्यालार्य समाधान गर्न कलाकार र मेला महोत्सव गर्ने  आयोजकहरु बढी जिम्मेवार हुनुपर्ने बताउनु भयो । यस्ता महोत्सवले आर्थिक उपार्जनलाई मात्र जोडदिंदा मेला महोत्सव र कलाकारहरुबाट नै संस्कृतिमा विकृति भित्रिएको बताउनु भयो ।


शुक्ला नगरपालिकास्थित शुक्ला साहित्य संगम र प्रगतिशिल लेखक संघले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको कार्यक्रममा शुक्ला साहित्य संगमका अध्यक्ष बेणु प्रसाद खतिवडाले नेपाली लोकनृत्यमा देखिएका चुनौती र समस्या समाधानका उपायहरु विषयक कार्यत्रपत्र प्रस्तुत गर्नु भयो । कार्यपत्र प्रस्तुत गर्दै उहाँले वैदेशिक रोजगारी, विदेशी गीतसंगीतलाई प्राथमिकता र युवा पुस्ताको कम चासोका कारण नेपालका मौलिक कला विस्तापित हुने अवस्थामा पुगेको बताउनु भयो । 
कार्यपत्रमाथि साहित्यकारहरु शेषमणी आचार्य, सागर उदास, जनार्दन दाहाल, रामचन्द्र लगायतले आफ्नो विचार प्रस्तुत गर्नु भयो । 


कार्यक्रमकी अध्यक्ष एवम् प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमूना शर्माले नेपाली मौलिक संगीत, नृत्यलाई संरक्षण गर्न प्रतिष्ठानले यस किसिमका गोष्ठी निरन्तर रुपमा सञ्चालन गर्दै आएको बताउनु भयो । कार्यक्रममा साहित्य संगमका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले स्वागत मन्तव्य र प्रगतिशिल लेखक संघका अध्यक्ष नारायणकमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने साहित्य संगमका पूर्वअध्यक्ष आनन्द सुन्दर श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो ।