गोदावरीमा नाटक, संगीत तथा नृत्यसहितको डबलीयात्रा–२०७४

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको रङ्गमञ्च विभागद्वारा आषाढ ८ गते विहिबारका दिन प्रज्ञा परिषद् सदस्य तथा रङ्गमञ्च विभागका प्रमुख पुष्करबहादुर गुरुङको संयोजन तथा प्रज्ञा सभा सदस्य कृष्णभक्त महर्जनको सह–संयोजनमा ललितपुर जिल्लाको गोदावरी स्थित कञ्चन मा. वि. को प्राङ्गणमा नाटक, गीत, संङ्गीत तथा नृत्यसहितको डबली यात्रा–२०७४ कार्यक्रम सम्पन्न गरेको छ ।
शुलक्षण भारतीको लेखन तथा अभिनय रहेको नाटक ‘सलेदो’ बाट कार्यक्रमको सुरुवात गरिएको थियो । मार्मीक भाव बोकेको नाटक सलेदोले दर्शकहरुलाई भावुक बनाएको थियो । त्यस्तै कार्यक्रमको दोस्रो प्रस्तुति स्वरुप लाखे नृत्य प्रस्तुत गरिएको थियो जसले दर्शकहरुको ध्यान आकर्षित गर्न सफल भएको थियो ।
त्यसैगरि कार्यक्रमको अर्को प्रस्तुति स्वरुप कञ्चन मा.वि.का छात्राहरुले झ्याउरे गीतमा नृत्य प्रस्तुत गरिरहँदा दर्शकहरु पनि गीतको तालमा झुमिरहेका देखिन्थे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन मा.वि. का प्रधानाध्यापक नवराज महतले कार्यक्रमको आयोजनाका लागि आफ्नो स्कूललाई छनौट गरेकोमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस डबली कार्यक्रमको माध्यमबाट विद्यार्थीहरुमा कला क्षेत्रमा लाग्न थप प्रोत्साहन मिल्ने बताउनु हुँदै कला क्षेत्रलाई माथि उठाउन यस्ता कार्यक्रम अपरिहार्य रहेकोले यस्ता कार्यक्रमलाई आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रस्तुत गरिएको टप्पा नृत्यले कार्यक्रममा थप मनोरञ्जन प्रदान गर्न सफल रह्यो । त्यस्तै स्थानिय कालाकारहरुबाट प्रस्तुत गरिएको उपत्यकामा प्रचलित नेवारी नृत्यले कार्यक्रममा अझ सुगन्ध थपेको थियो ।
कार्यक्रमको अन्तिम प्रस्तुति स्वरुप कलाकारहरुले तामाङसेलोमा आफ्नो कम्मर मर्काएका थिए जसको आनन्द दर्शकले मजैले लिएका थिए । कार्यक्रमका संयोजक प्राज्ञ गुरुङ आफैले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा स्कुलका प्रधानाध्यापक, शिक्षकवर्ग, अभिभावक, तथा विद्यार्थीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।


Copyright© 2015, All rights reserved.Designed & developed by Neoiris Systems Pvt Ltd.