वाङ्मय शताब्दी पुरुषको सम्मान अग्रज संस्कृतिविद् सत्यमोहन जोशीलाई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वाङ्मय शताब्दी पुरुषको सम्मान अग्रज संस्कृतिविद् सत्यमोहन जोशीलाई मंगलबार राजधानीमा एक समारोहबीच अर्पण गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र नारायण देवले अग्रज संस्कृतिविद् सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गरेका हुन् । सरकारले तीन महिनाअघि सो सम्मानको घोषणा गरेको थियो ।

सोही कार्यक्रममा राष्ट्रिय प्रतिभा पुरस्कार–२०७३ बाट चार जनालाई पुरस्कृत गरेको छ । १ लाख रुपैयाँ राशिको सो पुरस्कारबाट संस्कृतितर्फ तारानन्द मिश्र, संगीत तथा नाट्य विधातर्फ कलाकार हरिहर शर्मा, ललितकलातर्फ चित्रकार गोविन्द लाल सिंह डंगोल र भाषा तथा साहित्य विधाको पुरस्कार भाषाविद् डा. सुन्दर कृष्ण जोशीलाई मन्त्री देवले प्रदान गरे ।

सोही कार्यक्रममा नाट्य संगीत, भाषा साहित्य, ललितकला र संस्कृतितर्फको क्षेत्रीय प्रतिभा पुरस्कार–२०७३ पनि मन्त्री देवले प्रदान गरे । यो पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ र ताम्रपत्र थियो । भाषा साहित्यतर्फको पुरस्कार पूर्वाञ्चलबाट कवि गंगा सुवेदीलाई, मध्यमाञ्चलबाट कवि एवं कथाकार रुकु कार्कीलाई, पश्चिमाञ्चलबाट कवि अविनाश श्रेष्ठलाई, मध्यपश्चिमाञ्चलबाट श्रष्टा सृजन लम्साललाई र सुदूर पश्चिमाञ्चलबाट कथाकार हेमन्ती जोशीलाई प्रदान गरियो ।

संगीत तथा नाट्यतर्फको क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चलबाट नाट्यकर्मी परशुराम राई (प्रवीण पुमा) लाई, मध्यमाञ्चलबाट गायिका तीर्थकुमारी थापालाई, पश्चिमाञ्चलबाट नृत्य कलाकार मेनकाजी गुरुङलाई, मध्यपश्चिमाञ्चलबाट लोक स्रष्टा कमलकुमार विश्वकर्मालाई र सुदूर पश्चिमाञ्चलबाट लोकगायक दीपेन्द्रप्रसाद दाहाललाई प्रदान गरियो ।

संस्कृतितर्फको क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चलबाट ताराबहादुर बुढाथोकीलाई, मध्यमाञ्चलबाट डा. विजय दत्तलाई, पश्चिमाञ्चलबाट इन्द्रबहादुर गुरुङलाई, मध्यपश्चिमाञ्चलबाट बमकुमारी बुढालाई र सुदूर पश्चिमाञ्चलबाट दिनानाथ बराल ‘ममनिरधि’लाई प्रदान गरियो ।

यस्तै ललितकलातर्फको क्षेत्रीय प्रतिभा पुरस्कार पूर्वाञ्चलबाट मूर्तिकार विक्रम तिम्सिनालाई, मध्यमाञ्चलबाट चित्रकार रतनकुमार राईलाई, पश्चिमाञ्चलबाट चित्रकार भीमप्रसाद शर्मा सुवेदीलाई, मध्यपश्चिमाञ्चलबाट परम्परागत चित्रकार धोर्जे गुरुङ लामालाई र सुदूर पश्चिमाञ्चलबाट हस्त कलाकार नन्दकली राना थारूलाई प्रदान गरियो ।

सोही कार्यक्रममा संस्कृति मन्त्रालयका तर्फबाट ‘महाकवि देवकोटा पुरस्कार–२०७३’ विभिन्न विधामा प्रदान गरियो । सो क्रममा कवितातर्फ डा. बानिरा गिरीलाई, बालसाहित्य÷लोकसाहित्यतर्फ वासुदेव मुनाल कोइरालालाई, निबन्ध समालोचना विधातर्फ कृष्ण गौतमलाई, साहित्य सेवा विधातर्फ नगेन्द्रराज शर्मालाई र आख्यान÷नाटकतर्फ परशु प्रधानलाई पुरस्कृत गरियो ।

सोही क्रममा संस्कृति मन्त्रालयबाट पुष्पलाल राष्ट्रिय पुरस्कार विभिन्न व्यक्तिलाई प्रदान गरिएको थियो । पुष्पलाल राष्ट्रिय पुरस्कार–२०७३ बाट राजनीतिक÷सैद्धान्तिक विषयगत क्षेत्रको पुरस्कार प्रा.डा. राम खेलवान शाहलाई, साहित्य संस्कृति र विज्ञान विषयगत क्षेत्रको पुरस्कार मोदनाथ प्रश्रितलाई र इतिहास विषयगत क्षेत्रको पुरस्कार हिरण्यलाल श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार–२०७३’ विभिन्न तीन व्यक्तिलाई प्रदान गरियो । दलित मुक्ति आन्दोलनको क्षेत्रतर्फको पुरस्कार रामेश्वर मण्डल खत्वेलाई, समाज सुधार अभियानको क्षेत्र तर्फको पुरस्कार मिठाइदेवी विश्वकर्मालाई र सीप, कला, शिक्षा, साहित्य, संस्कृति लेखन तथा अध्ययन अनुसन्धान क्षेत्रतर्फको पुरस्कार प्रा.डा. विद्यानाथ कोइरालालाई प्रदान गरियो ।

यो पुरस्कार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी र संस्कृतिमन्त्री जितेन्द्र नारायण देवले प्रदान गरेका थिए । मन्त्री देवले नेपाली वाङ्मय क्षेत्रका जीवित धरोहर सत्यमोहन जोशीलाई सो सम्मान प्रदान गर्न पाउँदा खुसी लागेको बताए । यस्ता विभिन्न पुरस्कारले स्रष्टाहरूको योगदानको मूल्यांकनसँगै प्रोत्साहन मिल्ने बताए ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सो सम्मान आफ्ना लागि मात्र नभएर नेपाली वाङ्मयका लागि भएको बताए । यस्तो सम्मान आउँदा पुस्तकका लागि पनि प्रदान गरिने भएकाले यो सम्मानले वाङ्मय क्षेत्रको उचित मूल्यांकन भएको भनाइ उनले कार्यक्रममा व्यक्त गरे । सो कार्यक्रममा संस्कृति सचिव शंकर प्रसाद अधिकारीले पुरस्कारबारे प्रकाश पारेका थिए ।

आफ्नो संयोजकत्वमा विभिन्न समिति गठन गरेर पुरस्कृत व्यक्तिहरूको चयन गरिएको संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले प्रकाश पारे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति भक्त श्रेष्ठ (सरुभक्त), नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्याय, पूवमन्त्री छविलाल विश्वकर्मा र पुष्पलाल स्मृति प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले सम्बन्धित पुरस्कारको चयनबारे कार्यक्रममा प्रकाश पारे ।