सुनसरी जिलाको मुख्यालय इनरुवामा उड़ाँव भाषाभाषीहरुको प्रदर्शनकारी लोककला तथा संस्कृतिका विभिन्न पक्षहरु माथि नाट्य-विमर्श

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, काठमांडू द्वारा सुनसरी जिलाको मुख्यालय इनरुवामा उड़ाँव भाषाभाषीहरुको प्रदर्शनकारी लोककला तथा संस्कृतिका विभिन्न पक्षहरु माथि नाट्य-विमर्शको आयोजना १५ गते पौषमा गरिएको छ।

प्राज्ञ परिषद् सदस्य तथा नाट्य विभाग प्रमुख रमेश रंजन झाको अध्यक्षतामा संपन्न सो आयोजनामा उड़ाँवभाषाका विद्वान् अभियंता रामलाल उड़ाँवले कार्यपत्र प्रस्तुत गरेका थिए। उनी कार्यपत्रको माध्यमवाट उड़ाँव समुदायको लोकसंस्कृति तथा लोकाचारहरुका विभिन्न पक्षमाथि उल्लेख्य विमर्शको शुरुआत गरे र पछि सोही कार्यपत्रमाथि खुल्ला सत्रमा विभिन्न विज्ञ टीकाकारहरुले टिप्पणी गर्दै उड़ाँव समुदायका लोकव्यवहार माथि अझ वृहत् रूपले प्रकाश दिएका थिए। यस आयोजनामा उड़ाँव लोकसंस्कृतिका केहि आकर्षक झाँकीहरुका साथ गीत-संगीतहरु पनि विभिन्न कलाकारहरु मार्फत प्रस्तुत गरियो। इना उड़ाँवको नेतृत्वमा यस समुदायका महिला तथा पुरुषहरु कर्मा जस्तो महत्वपूर्ण पर्वमा कस्तो नृत्य गर्छन् सो प्रस्तुत गरेका थिए। साथै लेख्य नाट्य प्रस्तुतिको अभाव रहेता पनि हाल यस दिशामा केहि नया प्रतिभाहरु काम गरि रहेका छन् सो कुरा ममता उड़ाँव ले भनिन्।

यस नाट्य-विमर्श कार्यक्रममा उड़ाँव भाषाका साथ सामीप्यता राखने मैथिलीभाषा, थारुभाषा र नेपालीभाषाका विद्वान् सामाजिक अभियन्ताहरु पनि निकै संख्यामा भाग लिएका थिए। प्राज्ञ सभा सदस्य राम धामीका अतिरिक्त मैथिलीभाषाका लेखक तथा सामाजिक अभियन्ता प्रवीण नारायण चौधरी, रंगकर्मी लेखक तथा निर्देशक राम भजन कामत, रंगकर्मी लेखक तथा निर्देशक प्रकाश प्रेमी, सामाजिक अभियन्ता तथा संस्कृतिकर्मी धीरज बर्मा, संजय मेहताका साथ अरु थुप्रै संस्था तथा अभियान संचालन गर्ने अगुआहरु पनि सो विमर्शमा सहभागी भए र राखिएको कार्यपत्रमाथि टिप्पणी राख्दै अल्पसंख्यक तथा लोपोन्मुख उड़ाँव समुदायको भाषा र संस्कृतिलाई संरक्षण गर्न अन्य भाषाभाषीहरुका साथ सहकार्य गर्दै अगाडि बढ्न अनुरोध गरे।

नेपाल उड़ाँव आदिवासी जनजाती प्रतिष्ठानका पूर्व अध्यक्ष वासुदेव उड़ाँव विष्णु उड़ाँव, राजकुमार उड़ाँव, नुनुलाल उड़ाँव, ममता उड़ाँव, इना उड़ाँव सहित दर्जनौं उड़ाँव भाषा-संस्कृतिका जगेर्णामा लागेका समर्पित व्यक्तित्वहरु निकै उत्साहका साथ यस कार्यक्रमको आयोजनाको प्रशंसा गर्दै राज्यको कुनै निकायवाट आफुहरुका लागि सोच राख्दै आउने समयमा अझ सशक्तरूपले कार्य गर्ने प्रतिबद्धतामाथि संतोष व्यक्त गर्दै आगामी समयमा अरु प्रदर्शनकारी आयोजनाहरु गर्ने वाचा गरे। यस कार्यक्रमको स्थानीय संयोजनमा लागेका धीरज बर्माको मंच संचालनमा प्रकाश अनुरागी जस्ता सिनेकर्मीहरु उड़ाँव संस्कृतिलाई जोगाउन आफुहरु सधैं सहकार्य गर्दै आइ रहेको र भविष्यमा पनि गर्ने प्रतिबद्धता जनाए।

अन्तमा अध्यक्षीय संबोधन गर्दै प्राज्ञ रमेश रंजन झाले उड़ाँव लोकसंस्कृतिमा जन्म देखि मृत्युसम्म गीत र संगीतको उपयोगलाई अनौठो बताउंदै यस समुदाय संग नाटकीय प्रस्तुतिका लागि पनि अगाडि आउन प्रेरणास्पद बाटो देखाइयो। नाटक नै कला-संस्कृतिका साथ इतिहास र ऐतिहासिकतालाई जोगाउन सहज बाटो हो भनेर झा ले उड़ाँव समुदायका सबै सर्जकहरुलाई सुझाव दिंदै आगामी समयमा प्रतिष्ठानको सहयोग पनि सो दिशामा रहने वाचा गर्नु भयो।