गण्डकी प्रदेशका वाद्यवादनहरुको प्रस्तुति ‘गण्डकीका धूनहरु’ आयोजना हुने

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा हिमाली साँस्कृतिक परिवार, कास्कीको सहकार्यमा आउँदो मंसीर २० र २१ गते गण्डकी प्रदेशका वाद्यवादनहरुको प्रस्तुति ‘गण्डकीका धूनहरु’ कार्यक्रम पोखरास्थित उद्योग वाणिज्य महासंघको प्रेक्षालयमा हुने भएको छ ।  
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख अशोक राईको संयोजनमा आयोजना हुने कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरुबाट वाद्यवादन टोलीहरुले प्रतिनिधित्व गरी विभिन्न वाद्यवादनको धूनहरुको प्रस्तुति दिनेछन् । 


दुई दिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन मंसीर २० गते विचार गोष्ठी, वाद्यवादन सामाग्रहरुको प्रदर्शनी र कार्यपत्र प्रस्तुति तथा दोस्रो दिन  मंसीर २१ गते धूनहरुको प्रस्तुति रहने जानकारी कार्यक्रम संयोजक अशोक राईले दिनु भयो । साथै उहाँले कार्यक्रममा कास्की, लम्जुङ, मनाङ, गोर्खा, स्याङजा, मुस्ताङ, बाग्लुङ, तनहुँ, नवलपरासी लगायत जिल्लाका विभिन्न संघसंस्थाहरुको प्रस्तुति रहने जानकारी समेत गराउनु भयो ।