मनाइयो ११८औँ सम जयन्ती

माघ २४, काठमाण्डौं । नेपाल सङ्गीत तथा नाट््य प्रज्ञा प्रतिष्ठानले नाट्य सम्राट बालकृष्ण समको जन्म दिन पारेर ११८ औँ सम जयन्ती को आयोजना गरेको छ । नाट्य क्षेत्रका द्विगज व्यक्तित्वहरुको उपस्थितिमा माघ २४ गते प्रज्ञा प्रतिष्ठानको कार्यलय परिसरमा आयोजित सो कार्यक्रममा समको वृत्तचित्र देखाएर कार्यक्रमको शुमारम्भ गरिएको थियो । 
प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनको अध्यक्षतामा आयोजित कार्यक्रमा सदस्य सचिव श्याम प्रकाश तमोटले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । स्वागत मन्तव्य पछि नाट्य सम्राट बालकृष्णसम प्रति प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यहरु, सभा सदस्यहरु, अतिथिहरुले पुष्प अर्पण गरि सम्मान व्यक्त गर्ने कार्यक्रम रहेको थियो ।
कार्यक्रममा वक्ताका रुपमा आफ्नो मन्तव्य व्यक्त गर्दै डा. सावित्री मल्ल कक्षपतिले बालकृष्ण सम नाटककार मात्र नभई रङ्गकर्मी पनि भएको उल्लेख गर्नुभयो । कक्षपतिले समको बहुमुखी व्यक्तित्वको चर्चा गर्नु हुँदै सम अभिनेता, निर्देशक र रङ्ग व्यवस्थापक पनि भएको बताउनु भयो । 
मन्तव्यका क्रममा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले आफ्नो भनाई राख्दै समले ललितकलाको क्षेत्रमा पनि उत्तिकै योगदान दिनुभएको बताउनुभयो । साथै समको सिर्जनशीलताको चर्चा गर्दै मदन पुरस्कार गुठी र राष्ट्र बैंकको लोगो पनि समले नै सिर्जना गर्नुभएको बताउनु भयो । 
प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले मन्तव्य व्यक्त गर्ने क्रममा समको ११८ औं जयन्ती मनाउन पाउँदा आनन्दको महशुस भएको बताउनु भयो । अहिलेका धेरै युवा पुस्ताले समलाई नचिन्ने अवस्था सिर्जना भइसकेको तितो यथार्थ पनि व्यक्त गर्नु भयो । 
कार्यक्रमलाई समापन गर्ने क्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले आफ्नो विचार राख्दै ललित कला प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले समको सिर्जनाको संरक्षण र संवद्र्धन गर्न केही महत्वपूर्ण कार्यको थालनी गर्नु पर्ने बताउनु भयो । 


समको ११८ औँ जयन्ती कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्यहरु, नेपाल ललितकलाका कुलपति , उपकुलपति, परिषद् सदस्यहरु, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सभा सदस्यहरु, पूर्व परिषद् सदस्य पुष्कर गुरुङ, वरिष्ठ नाट्यकर्मी प्राज्ञ अशेष मल्ल, बरिष्ठ कलाकार बसुन्धरा भूषाल, वरिष्ठ कलाकार शकुन्तला गरुङ शर्मा लगायत पत्रकार र प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।