मण्डलामा १२ दिने नाट्य प्राविधिक कार्यशाला सुरु

काठमाडौं / नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम अन्तर्गत रङ्गमञ्च विभागको आयोजनामा काठमाडौंस्थित मण्डला थिएटरमा  नाट्य प्राविधिक  कार्यशाला पौष २० गते बाट शुभारम्भ भएको छ । 
    प्रतिष्ठानका कुलपति नाराययणभक्त श्रेष्ठ, सदस्य सचिव श्याम तमोट, कार्यशाला  संयोजक प्राज्ञ निशा शर्मा, वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल, राजन खतिवडा लगायतको उपस्थितिमा कार्यशालाको शुभारम्भ गरिएको हो । 


प्रशिक्षण कार्यक्रममा कुलपति रायनले यस्ता कार्यशालाले रङ्गकर्मीहरुमा नाटकमा प्रयोग हुने प्राविधिक सिपको विकास गरी नाटकलाई प्रभावकारी बनाउन मद्दत गर्ने बताउनु हुँदै प्रशिक्षणमा सहभागीहरुलाई यसको भरपूर उपयोग गर्न सुझाउनु भयो ।
यस्तै कार्यक्रमा सदस्य सचिव श्याम तमोटले सहभागीहरुलाई लक्षित गर्दै धेरैभन्दा धेरै अन्तर्रक्रिया हुनसकेको खण्डमा मात्रै प्रशिक्षण फलदायी हुने बताउनु भयो ।


   प्राविधिक कार्यशालामा काठमाडौं उपत्यका लगायत बाहिरि जिल्लाहरुमा नाट्य समूहमा आवद्ध भई रङ्गकर्म क्षेत्रमा कार्य गरिरहेका २४ रङ्गकर्मीहरुलाई सहभागी गराइएको जानकारी संयोजक निशा शर्माले दिनुु भयो । 
उक्त कार्यशालामा सहभागीताका लागि  आरोहण गुरुकुल( विराटनगर), चुलाचुली, तरङ्ग साँस्कृतिक परिवार(हेटौडा), कलालय (इटहरी), शैली थिएटर, सर्वनाम थिएटर थिएटर मल, गढिमाई नाट्य कला केन्द्र (बारा), खर्क नाटकघर लगायत अन्य नाट्य समूहमा आवद्ध तथा स्वतन्त्र रङ्गकर्मीहरुले सहभागिता जनाएको कार्यशालामा प्रशिक्षकहरु बरिष्ठ नाटक निर्देशक सुनिल पोखरेलले नाटक निर्देशनको जिम्मेवारी सम्हाल्नु भएको छ भने राजन खतिवडाले सेट डिजाइन, प्रविण खतिवडा र मिलन नेपालले प्रकाश (लाइट), र देव जोशी र प्रविण खतिवडाले ध्वनी  सम्बन्धी प्रशिक्षण दिनुहुने छ । 
प्रशिक्षण पश्चात तयार पारिएको नाटकलाई प्रदर्शन गरी अभिलेखसमेत राखिने भएको छ ।