अम्बर गुरुङ स्मृतिग्रन्थ
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ‘अम्बर गुरुङ्ग–स्मृति ग्रन्थ’ प्रकाशन गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति, राष्ट्रिय गानका सङ्गीतकार तथा वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको दोस्रो वार्षिक पुण्यतिथिको अवसरमा स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
स्मृति ग्रन्थमा अम्बर गुरुङका कृतित्व र व्यक्तित्वबारे पाँच दर्जनभन्दा बढी वरिष्ठ व्यक्तित्वहरूका लेख, रचना, संस्मरण तथा समालोचना समाविष्ट गरिएका छन् । ग्रन्थ मा गुरुङका हालसम्मका प्रकाशित, अप्रकाशित प्रतिनिधिमूलक लेख, रचना र तस्बिरहरूलाईसमेत समावेश गरिएको छ । प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको संयोजकत्वमा प्रकाशित यो ग्रन्थका सम्पादक मण्डलमा प्रतिष्ठानका परिषद् सदस्यहरू रमेशरञ्जन झा, उन्नती बोहरा ‘शीला’, पुष्करराज गुरुङ, माधव प्रधान, उदय श्रेष्ठ, पवित्रा घर्तीमगर हुनुहुन्थ्यो । सम्पादन सहयोगी स्वप्निल स्मृति रहेको यो ग्रन्थ ६ सयभन्दा बढी पृष्ठको रहेको छ । पुस्तकमा राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको बारेमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, यस प्रतिष्ठानका कुलपति सरुभक्त उपकुलपति शम्भूजीत बासकोटा, विजयकुमार राई, बैरागी काइँला, शान्ति ठटाल, प्रचण्ड मल्ल, रत्नशमशेर थापा, नगेन्द्र थापा, डा. अभि सुवेदी, उदय श्रेष्ठ, किशोर गुरुङ, डा. गोविन्दराज भट्टराई, तुलसी घिमिरे, तुलसी दिवस, देवेन्द्र भट्टराई, डा.नेत्र एटम, पिटर जे कार्थक, प्रकाश गुरुङ, बुलु मुकारुङ, रघु पन्त, रघु मैनाली, रमेश रञ्जन, रञ्जित गजमेर, रमण घिमिरे, राजेन्द्र थापा, रामेश, रायन, शंकर लामिछानेलगायतका लेखहरू समेटिएका छन् । यो पुस्तकको मूल्य पाँच सय रुपैयाँ राखिएको छ ।