दुई दिने सोरठी कार्यशाला गोष्ठी सम्पन्न

भक्तपुर ।सोरठी लोक नृत्यको ताल र भेषभूषासम्बन्धी प्रयोगात्मक तथा सैद्धान्तिक ज्ञानको कार्यशाला सम्पन्न भएको छ। नृत्य निर्देशक संघ नेपालको आयोजना तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भक्तपुरमा  चैत्र ३ गते मंगलबारबाट दुईदिने कार्यशाला भएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ उपस्थित थिए । त्यस्तै, कार्यक्रममा नेपालका पहिलो नृत्य निर्देशक भैरवबहादुर थापा तथा प्रतिष्ठानका नृत्य विभाग प्रमुख नमुना शर्मा सहभागी थिए ।

लोकनृत्य समालोचक, लेखक तथा अनुसन्धानकर्ता प्रा.डा. मोतीलाल पराजुलीका अनुसार नेपालको मध्यपहाडी भागमा प्रचलित विभिन्न लोकनाटकमध्ये लोकप्रिय लोकनाटक वा गीतिनाट्यलाई सोरठी भनिन्छ । यसलाई स्याङ्जाको दक्षिणपूर्वी भागमा नचरी, पाल्पाको पश्चिमी भागमा नाचन्या भन्दछन् भने पाल्पाकै केही भागमा भने करङ् नाच भन्दछन् । यस्तै, तनहुँमा सोरठीलाई पाङ्दुरे नाच तथा मारुनी नाच पनि भन्ने गर्दछन् । पाङ्दुरे भनेको कोदो हो । कोदो पाक्ने समय (आश्विन, कार्तिक) मा देखाउने नाच भएकाले पनि यसलाई पाङ्दुरे नाच भनिएको हो । मारुनी शैलीमा यो नाच देखाइने भएकाले यसलाई मारुनी नाच पनि भनिन्छ । मारुनी शब्द महारानी शब्दको अप्रभंश रुप हो । सोरठी विशेषगरी गुरुङ, मगर, कुमाले, दरै आदि जातिमा प्रचलित नाच छ । विभिन्न नामले परिचय गराइएता पनि सोरठी मूलतः लोकनाटकका रुपमा रहेको पाइन्छ । रोमाञ्च कथामा आधारित लोकनाटक भएकाले यसमा आनुष्ठानिक तत्व, संगीत तत्व, परम्परागत भेषभूषा, गीतिनृत्य तत्व, संदिग्ध ऐतिहासिकता, मौखिक अभिव्यक्ति आदि विशेषता विद्यमान छन् ।

कार्यक्रममा बोल्दै संघका केन्द्रीय अध्यक्ष श्रेष्ठले भने, ‘नेपालमा रहेका सबै नृत्य निर्देशकले सोरठी लोक नृत्यको नाच, ताल, र भेषभुषाको एकरुपता र यसबारे सैद्धान्तिक रुपमा जान्न आवश्यक छ ।’ उनले नृत्य निर्देशकले आफूले गर्दै आएको नृत्य निर्देशनमा विशेषगरी सोरठी लोक नृत्यको बारेमा आगामी पुस्तालाई हुबहु सिकाउन सकुन् भन्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको जनाए ।

यस्तै, प्रतिष्ठानका कुलपति रायनले भने, ‘पहिलोपटक यो ऐतिहासिक कार्यक्रम भएको छ । हामीले नृत्य निर्देशक संघसँग सहकार्य गरेका छौँ । हामीलाई निकै खुसी लागेको छ । यसले निरन्तरता पाओस् ।’ उनले अहिलेका पुस्तालाई हाम्रो संस्कृतिका बारेमा सिकाई यसको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न यस्तो कार्यक्रमको आवश्यकता पर्ने बताए । समारोहमा देशभरबाट प्रेम लोप्चन, सानेबहादुर राना मगर, पुर्ण नेपाली, रोचक थापा, के.पी. पौडेल, वाद्यवादक तथा नृत्यविज्ञ खड्ग बुढा मगर लगायतका ११० जना नृत्य निर्देशकले सहभागिता जनाएका थिए ।

News Credit: https://www.souryaonline.com/2021/03/351992