नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा सम्पन्न

 

काठमाडौं, असार १८ गते ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको समुद्घाटन माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री सुशिला सिर्पाली ठकुरीज्यूको प्रमुख आतिथ्यता तथा प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलको सभाध्यक्षमा सम्पन्न भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा असार १८ गते सोमबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १३ औँ प्राज्ञ सभा समुद्घाटन समारोह आयोजना गरिएको हो ।

१३ औँ प्राज्ञ सभा समुद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले मन्त्रालयस्तरबाट प्रज्ञा प्रतिष्ठानलाई गर्नुपर्ने सहयोग निरन्तर रहने बताउँदै प्रज्ञा प्रतिष्ठानका लागि हल निर्माण गर्न मन्त्रालय मार्फत प्रधानमन्त्रीसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पाखरेलले सरोकारवाला सबैवको सल्लाह र सुझावका आधारमा प्रज्ञा प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रम बनाउन सभामा छलफल गर्ने र आफ्ना गतिविधि अगाडी बढाउने बताउनु भयो ।

कार्यक्रममा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले एउटा भाषा हरायो भने सो भाषासँग सम्बन्धित समाज नै हराउने बताउनु हँुदै सबै समुदायको भाषा, संस्कृति, गीत संगीतलाई उत्तिकै महत्वका साथ संरक्षण र संवद्र्धनमा सरोकारवाल ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले नेपालको आर्थिक तथा सामाजिक रुपान्तरणले मात्रै देशमा समृद्धि हासिल हुने बताउँदै नेपालको चालु आवधिक योजनामा स्रष्टा तथा प्राज्ञिक वर्गको सामाजिक रुपान्तरणमा खेल्ने भूमिका समेत उल्लेख भएको बताउनु भयो । उहाँले १६ औँ आवधिक योजना लेखनको कार्य सुरु भएकाले सुसंस्कृत समाज निर्माणका लागि स्रटाहरुले गर्ने कस्तो योगदान गर्न सकिन्छ भन्ने बारे तीनवटै प्रज्ञा प्रतिष्ठानबाट आफ्नो अनुभव र सुझाव साझा गर्न समेत अनुरोध गर्नुभयो ।

समारोहमा बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले आफूहरुलाई सरकारले प्रज्ञा प्रतिष्ठान दिएको जिम्मेवारी पुरा गर्न नसक्ने छुट नभएको बताउँदै चुनौतिपूर्ण समयमा एकिकृत भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

समारोहमा प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै प्रज्ञा–प्रतिष्ठानले १३ वर्षको अवधिमा विभिन्न आरोहअवरोह पार गर्दै अहिले काठमाडौँ नक्सालस्थित सरकारबाट प्राप्त पन्ध्र रोपनी जग्गामा प्रियाब (अस्थायी आवास) निर्माण गरी आनो कार्य सञ्चालन गरिरहेको बताउनुभयो । समुद्घाटन समारोहमा लुगुम्याल चेलिबेटी आमा समूहले पञ्चेबाजाको धुनले राज्यमन्त्रीको स्वागत गरेको थियो भने प्राज्ञ परिषद सदस्य चेतन सापकोटा तथा वरिष्ठ गायक ओम श्रेष्ठले देशभक्ति गीत प्रस्तुत गर्नुभएको थियो ।

प्रज्ञा प्रतिष्ठानकी सदस्य सचिव कुश्मा महराले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु, वरिष्ठ स्रष्टा कलाकारहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन सत्र पश्चात नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सभाको बन्दसत्र आयोजना गरिएको थियो ।