प्रतिष्ठानले जग्गा पायो, अब आफ्नै जग्गामा भवन


काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाल सरकारबाट प्राप्त गरेको जग्गा आफ्नो नाममा कानूनतः कायम भएको जनाएको छ । यही मिति २०७७ साल माघ १५ गते प्रतिष्ठानको कार्यालय भाटभटेनीमा आयोजित एक अनौपचारिक कार्यक्रममा कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ले तत्कालीन सरकारबाट निर्णय भएको १५ रोपनी जग्गा प्रतिष्ठानको नाममा कायम भई नक्साङ्कन तथा रेखाङ्कन कार्य समेत गरिसकिएको जानकारी दिनुभयो ।

२०७२ सालमै तत्कालीन संस्कृतिमन्त्री कृपाशुर शेर्पाको प्रस्तावमा सुशील कोइराला नेतृत्वको सरकारले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको हाता नक्सालमा रहेको २४ रोपनीमध्ये १५ रोपनी जग्गा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानलाई दिने निर्णय गरेको थियो । तर उक्त निर्णयविरुद्ध ललितकला प्रज्ञा–प्रतिष्ठानले सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र भूमिसुधार मन्त्रालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि सो जग्गा विवाद छ वर्ष लम्बिएको थियो । मिति २०७७ को भाद्र १८ गते सर्वाेच्च अदालतका न्यायाधीस सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले सरकारको निर्णयलाई सदर गरेपछि सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका लागि उक्त जग्गा भोगचलन गर्ने बाटो खुलेको हो । प्रतिष्ठानको नाममा जग्गा दर्ता तथा नक्साङ्कन, रेखाङ्कन र घेराबारा कार्य सकिएको खुसीयाली साट्न आयोजना गरिएको कार्यक्रममा उपकुलपति हरिहर शर्माले लामो समयको मुद्दावारीको पीडा स्मरण गर्दै भन्नुभयो, ‘क, ख, ग हुँदै ‘ज’ आउँछ, ‘ज’ पछि ‘झ’ आउँछ । त्यसैले ‘जग्गा’ र ‘झगडा’ पनि सँगसँगै हुने गर्दो रैछ ।’ प्रतिष्ठान स्थापना भएको दस वर्षमा जग्गा प्राप्त भएको र यस अस्तित्वको सङ्घर्षमा भूमिका खेल्ने प्रतिष्ठानका निवर्तमान पदाधिकारी, कर्मचारी तथा नेपाल सरकारप्रति धन्यावाद दिनु हुँदै उपकुलपति शर्माले तत्कालका लागि प्र्रिफ्याब भवन निर्माण गरेर यही आर्थिक वर्षभित्र प्रतिष्ठानले आ्रफ्नो कार्यालय सार्ने दाबी गर्नु भयो । उहाँले सहरी विकास मन्त्रालयको भवन विभागलाई नक्सा बनाउने जिम्मेवारी दिइसकेकोले प्र्रिफ्याब निर्माणका लागि चाँडै सम्झौता हुने पनि बताउनु भयो । कुलपति श्रेष्ठले प्रतिष्ठानको लागि सवा अरब रुपैयाँको सुविधा सम्पन्न भवन बनाउन गुरुयोजना तयार गरिसकिएको तर कोभिड–१९ को महामारीका कारण दातृनिकायहरुसँग सहयोग जुटाउन गा¥हो परेकाले आर्थिक दृष्टिकोणले सहज हुने गरी प्रिफ्याब निर्माण गर्ने निर्णयमा पुगेको स्पष्ट पार्नु भयो ।

सदस्य सचिव श्यामप्रकाश तमोटले जग्गा प्राप्त गरेपछि धेरै लामो समयदेखिको उकुसमुकुसबाट खुकुलो महसुस भएकोले आगामी दिनमा प्रतिष्ठान झनै ऊर्जाशील भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । सदस्यसचिव तमोटले प्रतिष्ठानले प्रकृतिमैत्री भवन निर्माण गर्ने, अग्रज सङ्गीत तथा नाट्य साधकका नाममा विभिन्न रुख, फूल, बोटविरुवाहरु रोप्ने, हुकार्उने योजना रहेको पनि बताउनु भयो । कार्यक्रममा नेपाल कर्मचारी सङ्घका अध्यक्ष हिलारी बन्धु भुजेलले तत्कालीन सरकारले गरेको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले सदर गरेकोमा आभार प्रकट गर्दै प्रतिष्ठानको भवन निर्माणको गुरुयोजना सफल हुने विश्वास व्यक्त गर्नु भएको थियो ।