बाह्रौँ राष्ट्रिय बाल नाटक महोत्सव

काठमाडाैँ। शैली थिएटर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र रुसी विज्ञान तथा साँस्कृतिक केन्द्रद्वारा आयोजित बाह्रौँ राष्ट्रिय बाल नाटक महोत्सव यसपटक भर्चुअल रूपमा सुरु भएको छ। चैत एक गते चुलाचुली रंगमञ्चको प्रस्तुति नाटक 'रिट्ठु' मञ्चन गरेर महोत्सव सुरु भएको थियो। द्वन्द कालमा राज्य पक्ष र आन्दोलनरत पक्षबाट कसरी बालबालिका चेपुवामा परेका थिए भन्ने विषय 'रिट्ठु'भित्र समेटिएको थियो।

त्यस्तै, चैत दुई गते पुष्पराज अवस्थीको लेखन निर्देशनमा नाटक 'भूमिका' प्रसारण गरिएको थियो। 'भूमिका'को विषय वस्तुभित्र बलात्कारपछि विभत्स हत्या गरिएका बालिकाको कथालाई समेटिएको थियो। कलाकारहरूले बोल्ने संवाद सुदूरपश्चिमेली लवजमा भएकाले नाटकमा थप सुन्दरता थपेको थियो।

यसरी नियमित रुपमा चैत बाह्र गतेसम्म महोत्सवमा सहभागी नाटकको भिडियो शैली थिएटरको अफिसियल युटुव च्यानलमार्फत प्रसारण गरिनेछ। चैत ३ गते मर्निङ स्टार सुर्खेतको 'अक्षर', ४ गते सुनिल ढुंगानाको 'भुन्टे' मञ्चन भइसकेका छन्। ५ गते सुपुर्ब क्याटलिष्ट धादिङको 'के समाज अझै सुध्रिएको हो त' र ६ गते समता शिक्षा निकेतनको 'डोल्मा' मञ्चन भएकाे छ।

त्यस्तै ७ गते दर्शना स्कुलको 'इमान्दार दाउरे' ८ गते कोटदेवी पब्लिक स्कुलको 'महिला हिंसा', ९ गते फुलब्राइट स्कुल भक्तपुरको 'तेस्रो पाना' १० गते पवन ढुंगानाको 'वर्तमान कालका केटाकेटी', ११ गते नारायणी मा.वि. ललितपुरको परिवर्तित समाज' र चैत १२ गते कर्मी नाट्री समूहको 'नयाँ कदम' मञ्चन हुने कुरा महोत्सव सह निर्देशक सुवास सुवेदीले प्रकाश पारे।

'हामीले विगतमा बाल नाटक गरिरहँदा, आगामी नाटक महोत्सवमा यो गरौँला, त्यो गरौंला, अन्तर्राष्ट्रिय स्तरसम्म पुगौँला भन्ने थुप्रै योजना बने। अझै पनि प्रयास जारी छ, तर भविष्यमा यसरी भर्चुअल नाटक महोत्सव पनि गरिएला भन्ने सोच दिमागमा कहिल्यै आएन। हाम्रो लागि नयाँ अनुभव र सिक्ने अवसर पनि भयो।', बाह्रौँ राष्ट्रिय बाल नाटक महोत्सवका निर्देशक नवराज बुढाथोकीले आफ्नो अनुभव सुनाए।

'विगतका बाल नाटक महोत्सवको अलग्गै रौनक हुने गर्थ्यो। बालबालिकाको उपस्तिथिमा नाटक गर्न पाउनुको, उनीहरुको नाटक प्रत्यक्ष हेर्न पाउनुको आनन्द भर्चुअल महोत्सवबाट नमिल्दो रहेछ। यो हामीले चाहेर भएको होइन,' उनले महोत्सवबारे थप स्पष्ट पार्दै भने, 'समयले सृजना गरेको बाध्यात्मक परिस्थिति भित्र रहेर बालबालिकासँग रहेर काम गर्ने उत्साहलाई घट्न नदिने अभिप्रायले भर्चुअल नै भए पनि नाटक महोत्सव गरौँ भन्ने लाग्यो। अर्को निरन्तरताको लागि पनि बाल नाटक महोत्सव आयोजना गरेका हौँ।'

महोत्सवमा सहभागी नाटकमध्ये उत्कृष्ट तीन नाटकलाई पुरस्कृत गरिनेछ। महोत्सवको नतिजा भने चैत तेस्रो साताभित्र आइसक्ने जानकारी निर्देशक बुढाथोकीले गराए।

news source:https://newscastnepal.com