मुकुन्डो नृत्य प्रस्तुति २०७९ काठमाडाैंमा सम्पन्न
मंसिर २१ काठमाडाैं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा मंसिर २१ गते बुधबार ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ प्रज्ञा प्रतिष्ठान प्राङ्गणमा सम्पन्न भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा आयोजना भएको मुकुण्डो नृत्य प्रस्तुति कार्यक्रममा सभाध्यक्ष प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायन तथा प्रमुख आतिथि नृत्य क्षेत्रका हस्ती वरिष्ठ नृत्यकार, नेपाली पहिलो नृत्य निर्देशक तथा नृत्य अनुसन्धनकर्ता भैरवबहादुर थापा हुनुहुन्थ्यो ।
व्यानर वाचन गरेर समुदघाटन भएको कार्यक्रमा मुकुन्डो नृत्य सम्बन्धी दुई वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । पुरुषोत्तमलोचन श्रेष्ठले ‘नेपाल मण्डलका परम्परित मुकुण्डो नाच ः विगत र वर्तमान’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने वरिष्ठ संस्कृतिकर्मी गणेशराम लाछीले ‘नेपालको अमूर्त सम्पदा मुकुण्डो नृत्य आजको अवस्था’ शीर्षकमा तयार पार्न भएको आलेख वाचन गर्नूभएको थियो ।
कार्यक्रममा काठमाडौं उपत्यकामा प्रचलित चार प्रकारका मुकुन्डो नृत्य प्रस्तुत गरिएको थियो । काठमाडौं हाँडीगाऊँबाट नरनेवा मंका खलः ले लाखे नृत्य प्रस्तुत गरेको थियो । जसमा २१ जना कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
त्यसैगरी भक्तपुरबाट मुक्ति सङ्गीत प्रशिक्षण केन्द्रले महाकाली नृत्य प्रस्तुत गरेको थियो जसमा २२ जना कलाकारहरुले परम्परागत भेषभूषा सहितको महाकाली नृत्य प्रस्तुत गरे । भक्तपुरबाट विनायक स्कुलले नृत्य कलाकार तथा वाद्यवादक सहित १७ जना कलाकारहरु सम्मिलित अष्टमातृका नृत्य प्रस्तुत गरे । काठमाडौंको पिस कल्चर ग्रुपका २ जना कलाकारले भैरव काली नृत्य प्रस्तुत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञाप्रतिष्ठानका कार्यवहाक कुलपति जगमान गुरुङले मुकुण्डो माटो वा धातुबाट मात्र नभई बाँसबाट बन्ने नाङ्लोमा आकृति बनाएर पनि निर्माण गर्ने गरिएको इतिहास रहेको बताउनु भयो । लाखे राक्षस भएको तान्त्रिकहरुले वसमा पारेर नचाइने भएकाले तान्त्रिक नृत्य पनि भएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाले भाषाको उत्पत्ति जत्तिकै लामो रहेको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष कुलपति नारायणभक्त श्रेष्ठले नेपाली मौलिक कलाहरुको संरक्षण र प्रवद्र्धनमा प्रज्ञा प्रतिष्ठान लागि परेको बताउनुभयो ।
कार्यपत्र प्रस्तोता तथा कलाकारहरुलाई सभाध्यक्ष तथा प्रमुख अतिथिले कदर पत्र तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । नृत्य विभाग प्रमुख नमुना शर्माले संयोजन गर्नुभएको कार्यक्रमा उहाँले नै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारी, वरिष्ठ नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मीहरुको उपस्थिति रहेको थियो ।