लोक सङ्गीत हिजो र आज विषयक संगोष्ठी सम्पन्न
जेठ ३१
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको लोक सङ्गीत विभागको आयोजनामा लोक सङ्गीत हिजो र आज विषयक संगोष्ठी सम्पन्न भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माको अध्यक्षता तथा वरिष्ठ गायक प्रेम राजा महतको प्रमुख आतिथ्यतामा जेठ ३१ गते, नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभा हलमा आयोजना भएको कार्यक्रमको संयोजन लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ टीका पुनले गर्नुभएको थियो ।
कार्यक्रममा डा. गाविन्द आचार्यले लोक सङ्गीत हिजो र आज विषयक कार्यपत्र प्रस्तुत गर्नु भयो । जसमा प्राज्ञ यज्ञराज उपाध्याय र किरण बाबु पुनले टिप्पणी गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै आचार्यले लोक सङ्गीतको परिभाषा तथा यसको उत्पत्तिको विषयमा प्रकाश पार्नुहुँदै लोक सङ्गीतका तत्वका बारेमा जानकारी गराउनु भयो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै प्राज्ञ उपाध्यायले लोक सङ्गीत सबैको साझा सम्पत्ति भए पनि संकलन कर्ताले गाउँघरमा रुमल्लिरहेको गीतलाई वान्की थपेर लोक गीत बनाउँछ भने त्यसमा संकलनकर्ताको अधिकार स्थापित हुनु पर्ने बताउनुभयो ।
त्यस्तै किरण बाबु पुनले टिप्पणी गर्ने क्रममा छालाले मोडेका बाजा मात्र ताल बाजा नभएको र सारङ्गी, झ्याली लगायतका बाजालाई समेत ताल बाजाका रुपमा प्रयोग गर्न सकिने बताउनु भयो ।
त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि प्रेमराजा महतले नेपालका मौलिक चीजहरुलाई खोजी गरेर संरक्षण गर्नुपर्ने जोड दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो उद्देश्य पुरा गर्न आफूलाई भौतिक तथा प्राज्ञिक रुपमा सबलिकरण गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै उपकुलपति शम्भु राईले अहिले बजारमा आएका मीठा र रसिला गीतलाई आफूले लोक गीतका रुपमा नलिएको बताउनुहुँदै लोक गीत भनेका शताब्दीऔँ देखि पुस्तान्तरण हुँदै आएका गीत हो भन्नु भयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, वरिष्ठ गायक राजु परियार, ईन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कणेलले लोक सङ्गीतका विषयमा आफ्ना भनाई राख्नु भएको थियो ।
प्राज्ञ राधा राईले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, परिषद सदस्यहरू, वरिष्ठ लोक गायक गायिका तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।