वाद्यवृन्द “सारङ्गीमा देश” असोज २ गते साँझ ५ बजे राष्ट्रिय नाचघर, जमलमा

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७६ को सुखद् अवसरमा तथा नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा नेपालका मौलिक धुनहरुको प्रस्तुति गरिने वाद्यवृन्द “सारङ्गीमा देश” माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री योगेश भट्टराईज्यूको प्रमुख आतिथ्यमा यही मिति २०७६ असोज २ गते  साँझ ५ बजे राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिन लागेको छ । 

प्राज्ञ परिषद् सदस्य श्री अशोक राईको संयोजकत्वमा आयोजना हुने “सारङ्गीमा देश” वाद्यवृन्दमा ३५ देखि ४० जना कलाकारहरुले सामुहिक रुपमा नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न लोकधुनहरुको प्रस्तुत गरिनेछन् । मङ्गल धुनबाट सुरु गरिने कार्यक्रम सोरठी, पालम, असारे भाका देखि सुदुरपश्चिमको देउडा भाकासम्मको प्रस्तुति गरिने छ । विभिन्न जातजाति, भाषाभाषि र संस्कृतिको प्रतिनिधिमूलक धुनहरुलाई सारङ्गीमा प्रस्तुत गरिनेछन् । 
सारङ्गी  तार बाजा मध्येको एक बाजा हो, जसमा चार वटा तार रहेका हुन्छन् । यसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो । नेपालको यो मुख्य रुपले लोकगीतसँग प्रयोग गरिन्छ । यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले सङ्गीतका स्वरलाई आलंकारिक रुपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ । 
साङ्गीतिक कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ । कार्यक्रमको विभिन्न टेलिभिजनहरु मार्फत प्रत्यक्ष प्रसारण समेत गरिनेछ ।