शास्त्रीय सङ्गीत उत्सव – २०७६ रुसी सांस्कृतिक केन्द्रमा आज – शास्त्रीय गायन, वाद्यवादन तथा नृत्य प्रस्तुति

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय सङ्गीत दिवसको अवसर पारेर दुई दिने कार्यक्रमका साथ मिति २०७६ असार ५ गते  र ६ गते दुई दिवसीय शास्त्रीय सङ्गीत उत्सव – २०७६ कार्यक्रम आयोजना गर्न लागेको छ । 
शास्त्रीय सङ्गीत उत्सव – २०७६ को पहिलो दिन २०७५ असार ५ गते रुसी सांस्कृतिक केन्द्र, कमलपोखरीमा शास्त्रीय गायन, वाद्यवादन तथा नृत्य प्रस्तुति सहितको कार्यक्रम रहेको छ । यस अवसरमा विश्वप्रसिद्ध स्त्रोत्र गायक पं. विपिन मिश्रले शङ्ख, डमरू र पखाबज वादनका साथ स्त्रोत्र गायन प्रस्तुत गर्नेछन् । शङ्ख र डमरू फगत धार्मिक आयोजनाहरूमा बजाइने वाद्य मान्ने गरिएको परिप्रेक्ष्यमा यस्ता वाद्ययन्त्रको सुर-तालबाट सुन्दर सङ्गीत सिर्जना गरी सङ्गीतप्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै आएका छन् ।  कार्यक्रममा शास्त्रीय सङ्गीतको क्षेत्रमा यथेष्ट ख्याति आर्जन गरेका बरिष्ठदेखि युवा कलाकारहरूसम्मको प्रतिनिधमूलक सहभागिता रहने छ । बरिष्ठ शास्त्रीय सङ्गीतज्ञ धनबहादुर गोपाली, गुरुदेव कामत, सङ्गीता प्रधान, डा. ध्रुवेशचन्द्र रेग्मी, ज्ञानुराधा गोर्खाली, डङ्कन चौधरी, जीवन आले,  विकासनाथ योगी, रविनदास श्रेष्ठ, श्री केसी, सुरेश बज्राचार्य, सन्तोषभक्त श्रेष्ठ, मिलन-मिलेश, सुजाता वर्मा, जोनिशा पौडेल, नवराज सापकोटा, धनराज गुरुङ, परशुराम पौडेललगायतको साङ्गीतिक प्रस्तुति रहने छ । युवा नृत्याङ्गना सुजाता बरालको कत्थक नृत्यसमेत रहने उक्त कार्यक्रमको सञ्चालन शास्त्रीय सङ्गीतका निष्णात साधक डा. सीता थापाले गर्नेछिन् ।

उत्सवको दोस्रो दिन असार ६ गते शुक्रबार नेपाल प्रज्ञा-प्रतिष्ठानको सभाकक्षमा शास्त्रीय सङ्गीत सम्बन्धी विचारगोष्ठीको आयोजना गरिने छ । विचारगोष्ठीमा नेपालमा शास्त्रीय सङ्गीतको सम्भावना र चुनौती तथा शास्त्रीय सङ्गीतका गायनशैलीहरू विषयक कार्यपत्रहरू प्रस्तुत गरिने छन् ।
समग्र सङ्गीतको विकासमा शास्त्रीय सङ्गीतको महत्त्वपूर्ण भूमिकालाई आत्मसात गरी शास्त्रीय सङ्गीतको प्रवर्द्धन तथा युवा पुस्तामा समेत यसलाई लोकप्रिय बनाउँदै लैजाने ध्येयका साथ शास्त्रीय सङ्गीत उत्सवको आयोजना गर्न लागिएको हो ।