सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे उपलब्धीहरु सार्वजनिक

काठमाडाैं, २०८० फागुन ४ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको एक वर्षे उपलब्धीहरु सार्वजनिक  गरिएको छ ।
२०७९ फागुन ४ गते  चौथो कार्यकालका लागि नियुक्त हुनुभएका प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्य सचिव लगायत परिषद सदस्य र सभा सदस्यहरुको एक वर्ष अवधि पुरा भएको सन्दर्भ पारेर २०८० फागुन ४ गते  सो अवधिमा हासिल भएका उपलब्धीहरु प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । 

त्यस अवसरमा प्रतिष्ठानकी कुलपति निशा शर्माले महत्वपूर्ण कार्यक्रम गर्ने भनेर कार्ययोजना निर्माण गरी पेश गरिए पनि बजेट कटौती हुँदा धेरे कार्यक्रम गर्न नसकिएको बताउनु हुँदै उहाँले बजेटको सीमामा रहेर केही महत्वपूर्ण काम गरिएको जानकारी गराउनुभयो ।  ‘‘विश्वमा कला– संस्कृतिको विकासमा राज्यको महत्वपूर्ण लगानी हुने गरेको तर नेपालमा कला संस्कृति प्राथमितामा परेन”,उहाँले भन्नुभयो, “प्रतिष्ठानमा सङ्गीत, नृत्य तथा नाट्य कक्षा लिने सोच त छ तर ठाउँ छैन, कतैबाट अनुदान आयो भने टहरो बनाएर भए पनि काम गर्नुपर्ने छ।”

प्रतिष्ठानका उपकुलपति शम्भु राईले मुलुकको संस्कृति र सांस्कृतिक विषयलाई राज्यले नबुझेसम्म रुपान्तरण सम्भव नहुने बताउँनु हुँदै सीमित बजेटका बाबजुद  प्रज्ञा प्रतिष्ठानबाट सम्पादन भएका कार्यलाई सबैले सकरात्मक रुपमा लिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले एक वर्षको अन्तरालमा सम्पादन भएका र जारी रहेका कार्यक्रमहरुको विवरण प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा प्रज्ञा प्रतिष्ठानका उपलब्धीहरुलाई श्रब्यदृश्य प्रस्तुति मार्फत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।