सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्राज्ञ सभा सम्पन्न

असार २१ गते, काठमाण्डौ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले १२ औँ प्राज्ञ सभा सम्पन्न गरेको छ । सम्माननीय प्रधानमन्त्री तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संरक्षक शेर बहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ औँ प्राज्ञ सभाको उद्घाटन प्रमुख अतिथिबाट पानसमा द्विप प्रज्वलन गरी गरिएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाल जैविक र भौगोलिक विशिष्टताले मात्र सम्पन्न नभई साँस्कृतिक विविधताले पनि समृद्ध मुलुक हो भन्नुभयो । उहाँले सांस्कृतिक विविधता भनेका हाम्रा अमूल्य सम्पदा हुन्, जसलाई सङ्गीत नाट्य जस्ता प्रदर्शन कलाले चलायमान र उर्जावान बनाईरहन्छन्  भन्नुभयो । सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठान भनेको कला र कलाकारहरुको संस्था हो भन्दै  देशमा लोकतन्त्रको स्थापनामा तथा संरक्षणमा कलाकारहरुले निर्वाह गरेको भूमिकालाई हेर्दा कलाकार राष्ट्रको महत्वपूर्ण अङ्ग हो भन्नुभयो । 
उहाँले सङ्गीत नाट्य जस्ता कला आफैँमा राष्ट्रका अमूलय सिर्जना भएको र त्यसले राष्ट्रको गौरव बढाउनुका साथै सिर्जनशीलताको सञ्चार गर्ने बताउनुहुँदै नाट्य प्रज्ञा प्रतिष्ठानले नाट्य नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त प्रभावकारी भूमिका खेल्न सक्ने भएकोले सरकारको पनि साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । 
यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका संरक्षक जीवनराम श्रेष्ठले देशको सांकृतिक विविधतालाई जोगाइराख्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठले प्रतिष्ठानले जग्गा प्राप्ति गरी दैनिक प्रशासनिक कार्य गर्नका लागि भवन निर्माण अन्तिम चरणमा पुगेको  र अडिटोरियम हल सहितको सुविधासम्पन्न भवनको डिपिआर समेत तयार भएको बताउनुहुदै यसका लागि राज्यले विशेष चासो दिनुपर्ने बताउनुभयो । 
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले प्रतिष्ठानले गर्दै आएका गतिविधिहरुका बारेमा प्रकाश पार्दै सङ्गीत विषयको उच्च शिक्षा हासिल गर्न चहानेका लागि विश्वविद्यालयसँग समन्वय गरी नेपालमै पाठ्यक्रम विकास गर्न शास्त्रीय सङ्गीत समाजसँगको सहकार्यमा पुस्तक प्रकाशन गरिएको बताउनुभयो ।  
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सङ्गीतय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनका निम्ति स्थानीय तह, राजनीतिक दल र प्राज्ञहरुबीच संस्कृति, कला र साहित्यको विषयमा निरन्तर छलफलको आवश्यक्ता रहेको आँैल्याउँनु भयो । 
यस्तै ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कोरोना माहामारीका बीच सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले प्राप्त गरेका उपलब्धिप्रति खुसी व्यक्त गर्नुभयो । 
उद्घाटन सत्रपछि प्रज्ञाप्रतिष्ठानको सभा सदस्यहरु सम्मिलित बन्द सत्र सुरु भई वार्षिक आयव्यय लगायतका प्रतिष्ठानको अबको कार्ययोजना सहितको एजेण्डामाथि छलफल भएको थियो ।