भिम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानको सम्मान कार्यक्रम सम्पन्न सदस्यसचिव तमोटद्वारा ७ प्रतिभालाई सम्मान हस्तान्तरण
भिम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठानको सम्मान कार्यक्रम सम्पन्न सदस्यसचिव तमोटद्वारा ७ प्रतिभालाई सम्मान हस्तान्तरण
माघ १७, काठमाडौं । भिम विराग सङ्गीत, साहित्य, कला प्रतिष्ठान नेपाल हेटौंडाले साहित्य, सङ्गीतका साथै सामाजिक क्षेत्रमा सक्रिय बाल, युवा, नारी र भिन्न क्षमतासहित राष्ट्रिय स्तरका ७ जना प्रतिभालाई सम्मानित गरेको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका सदस्यसचिव श्यामप्रकाश तमोटको प्रमुख आतिथ्यतामा यही माघ १५ गते बुधबारका दिन हेटौंडामा उक्त सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि तमोटले भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट आगमन कोइराला, मङ्गलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कारबाट स्वास्थ्यकर्मी सत्यदेवी जर्घा, तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार र चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट क्रमशः युवाकवि शान्ति प्रियवन्दना र छवि अनित्यलाई सम्मानित गर्नुभयो । यसैगरी शीला नारी प्रतिभा पुरस्कारबाट सन्ध्या आचार्य, हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट वरिष्ठ सङ्गीतकर्मी शुभबहादुर सुनाम र अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कारबाट प्रविण ग्वाच्छा सम्मानित हुनुभयो ।
कार्यक्रममा सम्मानित प्रतिभाहरुलाई बधाइ तथा निरन्तर सक्रियता र थप प्रगतिको शुभकामना दिनहुँदै सदस्यसचिव तमोटले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानको गतिविधि बारे समेत जानकारी दिनु भएको थियो । एक प्रसङ्गमा भौतिक शरीर नष्ट भए पनि स्रष्टाका सिर्जनाहरु रही रहने हुँदा स्रष्टालाई स्वर्गीय नभन्नु उपयुक्त हुने र स्रष्टाहरुलाई प्रदान गरिने नगद रासीलाई पुरस्कारभन्दा पनि नगद—सम्मान भन्नु उचित हुने विचार राख्नुभयो ।
वाग्मती प्रदेशको स्थायी राजधानी हटौंडा भएकोमा बधाइ दिनु हँुदै उहाँले हेटौंडासँग प्रज्ञा—प्रतिष्ठानले निरन्तर सहकार्य गर्दै आएको स्मरण गराउनुभयो । यस क्रममा प्रज्ञा—प्रतिष्ठानले २ वर्षअघि हेटौंडामा सञ्चालन गरेको धिमे बाजा प्रशिक्षणजस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बचनवद्धता प्रकट गर्नुभयो । हालै मात्र प्रज्ञा—प्रतिष्ठानले सारङ्गी वाद्यवादन प्रस्तुति कार्यक्रम र नाट्य प्रविधि कार्यशाला सम्पन्न गरेको र सो नाट्य कार्यशालामा हेटौंडाको पनि सहभागिता रहेको खुशी प्रकट गर्नु हुँदै निकट भविष्यमा हुन लागेको मकुण्डो नृत्य महोत्सवमा पनि हेटौंडाको कुनै न कुनै रुपमा सहभागिता हुने विश्वास व्यक्त गर्नुभयो ।
मकवानपुर जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खनाल विशिष्ट अतिथि रहनु भएको उक्त कार्यक्रम नाट्यकर्मी उज्ज्वल शर्मा भण्डारीको अध्यक्षतमामा सम्पन्न भएको थियो ।