मधेसी समुदायको लोकगीत ‘विरहा’को छायाङ्कन एवं स्वराङ्कन सम्पन्न

लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्ला र आसपासमा गाइने मधेसी समुदायको लोकगीत ‘विरहा’ लामो अध्ययन र अनुसन्धान पछि बुटवलको ओमी स्टुडियोमा ओमी बैशाख १४ गते छायाङ्कन एवं रेकर्ड गरिएको छ । उक्त कार्यको संयोजन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान लोक सङ्गीत विभाग प्रमुख प्राज्ञ हरिदेवी कोइरालाले गर्नुभएको थियो भने लोक दोहोरी प्रतिष्ठान, कपिलवस्तुका अध्यक्ष थानेस्वर अधिकारीले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।

प्रज्ञा प्रतिष्ठानको आयोजना र लोक दोहोरी प्रतिष्ठान कपिलवस्तु तथा भजन चुड्का राष्ट्रिय समितिको सहयोगमा सम्पन्न विरहा गीतको स्वराङ्कनमा कलाकारहरु सत्यनारायण यादव, मनीराम चाई, विक्रम चमार, रामलोटन यादव, रामलोटन चाई, थानेश्वर अधिकारी लगायतले स्वर दिनुभएको थियो । उक्त विरहा लोकगीत नेपालसँग सिमाना जोडिएका भारतको उत्तरप्रदेश, बिहार तथा झारखण्ड राज्यमा समेत प्रचलन रहेको छ ।