प्राज्ञ कोइरालाद्वारा पिएन क्याम्पसलाई पुस्तक हस्तान्तरण

गत पौष ५ गते,आइतबार पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनार्थ पुस्तक हस्तान्तरण कार्यक्रमको आयोजना गरेको थियो । जसमा विभिन्न संघसंस्थाबाट पुस्तकहरु क्याम्पसलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य हरिदेवी कोइरालाले प्रतिष्ठानद्वारा प्रकाशित दर्जनबढी अनुसन्धानात्मक पुस्तकहरु हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ कोइरालाले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले स्थापना गर्न लागिएको पुस्तकालयका लागि पुस्तक हस्तान्तरण गर्न पाउँदा ज्यादै हर्षित भएको भन्दै पुस्तकालयको सफलताका लागि शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै विभागीय प्रमुख डा. कुशुमाकर न्यौपानेले हालसम्म विभिन्न संघसंस्था तथा स्रष्टाहरुबाट पाँच हजार बढी पुस्तकहरु संकलन भईसकेको जानकारी दिनुभयो ।