दुरा समुदायको लोपोन्मुख ठाडोभाका दोहोरीको छायाङ्कन सम्पन्न

           
नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र ठाडोभाका लोककला प्रतिष्ठान लमजुङ्गको सह–आयोजनामा अत्यन्त दुर्लभ लोपोन्मुख दुरा जातिमा प्रचलित ठाडोभाका दोहोरी गीतको छायाँङ्कन लमजुङ जिल्लाको राइनास नगरपालिका वडा नं ८ मा सम्पन्न भएको छ । 


उक्त ठाडोभाका गीतमा लमजुङ्गका विभिन्न भेग र तनहँु बन्दीपुरबाट पनि कलाकारको सहभागिता रहेको थियो भने ८६ छयासी वर्षकी ठाडोभाका उपाधिद्धारा विभुषित नन्दमाया दुरा देखी २१ (एक्काइस) वर्षका नवीन बरालसम्मका ठाडोभाका गाउने कलाकारहरुको बाक्लो उपस्थित थियो । ठाडोभाकाको अनुसन्धान कार्य पनि भइराखेको सन्र्दभमा  अनुसन्धान गर्ने अनुसन्धानकर्ता मुक्तिनाथ घिमिरेको पनि उपस्थित थियो । 
लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको सभापतित्वमा राइनासमा अवस्थित मानव सेवा आश्रमको हलमा करिब ४५ जना जति गायक–गायिकाहरुको सहभागितामा संचालन भएको कार्यक्रममा संस्थाका उपाध्यक्षले स्वागत मन्तव्य दिनुभएको थियो भने प्रतिष्ठानको परिषद सदस्य लोकसङ्गीत विभाग प्रमुख हरिदेवी कोइरालाले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया तथा ठाडोभाका लोककला प्रतिष्ठानका मूख्य संरक्षक संस्कृतिकर्मी बुद्धिमान गुरुङ्ग र ठाडोभाका अनुसन्धानकर्ता मुक्तिनाथ घिमिरेले ठाडोभाका गीतको महत्वमाथि चर्चा गर्नुभएको थियो ।