प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुको एक समारोहबीच विदाई सम्पन्न

 
पुस १५ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान कर्मचारी संघले पुष १४ गते  प्रज्ञा प्रतिष्ठानमा तेस्रो कार्यकालका लागि २०७५ पुष १६ गते नियुक्त भएका पदाधिकारीहरुलाई ४ वर्षको कार्यकाल समाप्ति भए सँगै एक समारोहको आयोजना गरी विदाई गरेको छ । 
प्रज्ञा प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठको प्रमुख आतिथ्यतमा आयोजित विदाई समारोहमा  उपकुलपति हरिहरल शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोट प्राज्ञ परिषद सदस्यहरु निशा शर्मा, नमुना शर्मा, मेघराज मञ्जुल, धीरेन्द्र प्रेमर्षि, अशोक राई तथा हरिदेवि कोइराला र प्राज्ञ सभा सदस्यहरु शिशिर योगी, सत्यकला राई, लक्ष्मण गाम्नागे, हरिबहादुर थापा तथा बाबा बस्नेत उपस्थित हुनुहुन्थ्यो । 
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठ रायन कोभिड तथा मुद्धा मामिलाका बाबजुद  ४ वर्षको अवधिमा महत्वपूर्ण कार्यहरु गर्न सफल भएको बताउनु भयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै उपकुलपति हरिहर शर्माले आज यस संस्थाबाट बिदा भए पनि नेपाली कला, संगीत, नाटक क्षेत्रमा नै आफूहरु आबद्ध रहिरहने र ४ वर्षसम्म सहयात्री भएर साथ दिने कर्मचारीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । 


यस्तै सदस्य सचिव श्यामप्रकाश तमोटले विदाई नभनेर सम्झना कार्यक्रम राख्नु पर्ने सुझाव दिंदै आफू प्रज्ञा प्रतिष्ठानको जिम्मेवारीबाट अलग भईरहँदा गर्वका साथ विदा हुन लागेको महशुस गरेको बताउनुभयो । उहाँले यस कार्यकालले प्रज्ञा प्रतिष्ठानको स्थायीत्व कायम गर्न  महत्वपूण भूमिका निर्वाह गर्न सफल भएको र आगामी आउने नेतृत्वलाई काम गर्न सहज हुने वातावरण बनाउन सफल भएको पनि बताउनु भयो ।
विदाई कार्यक्रममा प्रँज्ञा हरिदेवि कोइरालाले विदाई सम्बन्धि मार्मिक  लोक शैलीमा गीत गुनगुनाउनु भएको थियो । प्राज्ञ नमुना शर्माले पनि विदाई सम्बन्धी कविता प्रस्तुत गर्नु भयो । धीरेन्द्र प्रेमर्षिले भावुकताको क्षणलाई चिर्दै माहोललाई साङ्गीतिक बनाउने प्रयास गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दैै प्राज्ञ सभा सदस्य हरिबहादुर थापाले प्रतिष्ठानले उल्लेख्य कामहरु गरेपनि ती कार्यहरुलाई प्रचार प्रसार गर्न चुकेको बताउनु भयो । 
 
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कर्मचारी नेत्र भुजेलले  ४ वर्षको समय पदाधिकारी र कर्मचारीहरुबीच सौहार्दपूर्ण रहेको बताउनुभयो भने र ध्रव वाग्लेले पदाधिकारीहरुकोे योगदानको प्रसंशा गर्दै कर्मचारीहरुको सेवा सुविधा र वृति विकासको समस्या सम्बोधन हुन नसकेको गुनासो गर्नुभयो ।  त्यस्तै कार्यक्रममा बोल्दै कर्मचारी संघका अध्यक्ष हिलारी बन्धु भुजेलले प्रतिष्ठानमा पु¥याएको योगदानका लागि धन्यवाद दिंदै आगामी सुन्दर भविष्यका लागि शुभकामना दिनुभयो ।