पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु

२०७८ फागुन १३ । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको गण्डकी प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव पोखराको गन्धर्व नाटकघरमा शुभारम्भ भएको छ  । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले उद्घाटन गर्नु भएको  महोत्सव फागुन १६ गते सोमबारसम्म चल्नेछ । 

महोत्सवमा गण्डकी प्रदेशका ८ जिल्लाका १२ नाटक मञ्चन हुनेछन् । ती नाटकहरु गन्धर्व नाटकघरमा हरेक दिन ३ वटा नाटकका दरले ४ दिनसम्म मञ्चन गरिनेछ ।

‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल मन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एंव नेपाल सङ्गीततथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाण्डौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराले सहकार्य गरेका छन् ।

गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसभन्दा अगाडि थिएटरले पोखरा महानगरपालिका स्तरिय नाटक महोत्सव समेत आयोजना गरेको थियो ।