सङ्गीत नृत्य तथा नाटक विधाका ६ जना स्रष्टाहरु सम्मानित

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले विगतका वर्षहरुझैं यस वर्ष पनि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७७ सङ्गीत, नाटक तथा नृत्य विधाका छ जना वरिष्ठ स्रष्टा साधकहरुलाई समर्पण गरेको छ । कोभिड–१९को महामारीको विषम परिस्थितिका कारण २०७८ असार २० गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले मुलुकको तीन स्थानमा कार्यक्रम गरी पुरस्कार वितरण गरेको छ । प्रज्ञा प्रतिष्ठानको कार्यलयमा आयोजना गरिएको पुरस्कार समर्पण समारोहमा प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठ रायनले ६ जना पुरस्कृत स्रष्टामध्ये लोक सङ्गीत विधामा वरिष्ठ लोक गायिका श्री ज्ञानु राणा र सङ्गीत विधामा वरिष्ठ गायक तथा सङ्गीतकार श्री माणिकरत्न स्थापितका तर्फबाट छोरा सुशील स्थापित लाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७७ समर्पण गर्नु भयो । अस्वस्थताका कारण पुरस्कार समारोहमा उपस्थित हुन असमर्थ भएपनि नृत्य विधाबाट पुरस्कारका लागि मनोनित वरिष्ठ नृत्याङ्गना श्री बेटी बज्रचार्यलाई उहाँकै निवासमा गएर प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य श्री नमूना शर्माले पुरस्कार समर्पण गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति श्री नारायणभक्त श्रेष्ठले पुरस्कृत सबै स्रष्टा तथा कलाकारलाई बधाई दिँदै आगामी दिनमा पनि समाज र मुलुक परिवर्तनमा योगदान दिने किसिमका सिर्जनालाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा अतिथिहरुलाई स्वागत गर्दै प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री हरिहर शर्माले यस पटक कोभिड महामारीका कारण पुरस्कार वितरण तीन ठाउँबाट गर्न लागिएको जानकारी गराउनुभयो । आगामी वर्ष भव्य कार्यक्रम गरी पुरस्कार समर्पण गर्न पाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा प्रज्ञा पतिष्ठानका कार्यबहाक सदस्य सचिव अशोक राई, प्राज्ञ परिषद सदस्यहरु मेघराज शर्मा मञ्जुल, नमूना शर्मा र प्राज्ञ सभा सदस्यहरु र प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

त्यसै गरी सुदूर पश्चिम प्रदेशका माननीय मुख्यमन्त्री श्री त्रिलोचन भट्टज्यूको प्रमुख आथिथ्यातामा र प्राज्ञ परिषद् सदस्य श्री निशा पोखरेको अध्यक्षतामा मुख्यमन्त्री कार्यालय, धनगढी, कैलालीमा एक समारोह आयोजना गरी प्राध्यापक, नाट्यकर्मी तथा संचारकर्मीको उपस्थितिमा नाट्य विधातर्फको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ वरिष्ठ नाट्यकर्मी श्री धनबहादुर मल्ललाई समर्पण गरिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुर पश्चिमका स्रष्टालाई सम्मान गर्न पाउँदा अत्यन्तै हर्षित भएको जानकारी दिँदै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली सङ्गीत तथा नाट्य क्षेत्रलाई संवद्र्धन, प्रर्वद्धन, संरक्षण गर्न खेलेको भूमिका सराहानीय रहेको बताउनु भयो ।

त्यस्तै प्रदेश नं २ का माननीय मुख्यमन्त्री श्री लालबाबु राउतज्यूको प्रमुख आतिथ्यातामा र प्राज्ञ परिषद् सदस्य श्री धीरेन्द्र झा प्रेमर्षि को अध्यक्षतामा जनकपुरमा आयोजित एक समारोहमा परम्परागत सङ्गीत विधातर्फ वरिष्ठ परम्परागत गायक÷नर्तक श्री वंशीधर मण्डल(बशी बाबा) र रङ्गमञ्च विधातर्फ वरिष्ठ रङ्गकर्मी श्री सुनीलकुमार मिश्रलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ समर्पण गरिएको छ । उक्त अवसर मैथिली रंगमंच प्रथम महिला कलाकार विद्या राणा चौधरीलाई समेत ११ हजार नगद सहित सम्मान गरिएको थियो । उक्त समारोहमा मुख्यमन्त्री राउतले समाजका ऐनाका रुपमा रहेका स्रष्टाहरु सम्मान गर्न प्रदेश सरकारले चाँडै प्रदेश प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागेको जानकारी समेत गराउनु भयो् । पुरस्कृत व्यक्तित्वहरुलाई जनही १ लाख १ रुपैँया र ताम्रपत्रसहित नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७७ बाट सम्मान गरिएको हो .