अत्तरियामा सु.प.क्षेत्रको लोक नृत्य हुड्केली प्रदर्शन तथा गाेष्ठी सम्पन्न

 

अत्तरिया । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान बालुवाटार, काठमाण्डौंकाे आयोजनामा अत्तरिया स्थित राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालको सहकार्यमा २०७८/१०/२२ अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको सभाहलमा सुदूरपश्चिम प्रदेशको प्रख्यात मौलीक लोकनृत्य हुड्केली प्रदर्शन गरिएको छ । उक्त समारोहको अध्यक्षता नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानकी प्राज्ञ सदस्य नमुना शर्माले गर्नु भएको थियो । प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय लालबहादुर खड्का रहनुभएको थियो । त्यस्तै विशिष्ट अतिथिमा, सु.प.प्रदेशसभा सदस्य माननीय डिल्लीराज पन्त, माननीय महेशदत्त जोशी गोदावरी नगरपालिका कैलालीका नगरप्रमुख हरिसिंह साउँद, र उप–प्रमुख रत्ना कडायत रहनुभएको थियो । सु.प.क्षेत्रका वरिष्ठ हुड्के कलाकार चिनाराम नेपाली र बर्दियाका हुड्के नृत्य कलाकार खगेन्द्र नेपाल लगायतक हुड्के टीमका कलाकारहरुले आज आफ्नो आकर्षक प्रस्तुति गरेका थिए ।

विश्वव्यापी महामारी कोरोना महामारीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सम्वन्धि आवश्यक मापदण्डहरु अपनाई कार्यक्रममा ज्यादा भिडभाड नगरी सिमित संख्यामा मात्रै दर्शकहरुलाई बोलाइएको थियो । सो कार्यक्रममा अत्तरिया क्षेत्रवरपरका बुद्धिजीवी, व्यापारी, शिक्षक, कर्मचारी तथा कला साहित्यप्रेमी महानुभावहरुको उपस्थिति रहेको थियो ।

May be an image of 5 people and people standing

कार्यक्रमका प्रमुख अतिथि माननीय सामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेशमा छिट्टै सु.प.प्रज्ञा प्रतिष्ठान गठन हुने जानकारी दिनु भएको थियो । कार्यक्रमका अध्यक्ष नमुना शर्माले हुड्के नाँच ऐतिहासिक महत्वको नाँच भएकोले त्यसको संरक्षण गर्नु पर्ने आवश्यकता औल्याउनु हुँदै यो कार्यक्रमको आयोजना गरिएको बताउदै सु.प.क्षेत्रको मौलिक नृत्यको संरक्षणमा सबैलाग्नु पर्ने बताउनु भएको थियो । उहाँले कुनै पनि देशको संस्कृति भनेको राष्ट्रको पहिचान हो र प्रत्येक जिल्ला जिल्लामा भएका मौलिक नृत्यहरुको खोजीगरी उनिहरुको संरक्षण र विस्तारकोेलागि अँझै अध्ययन अनुसन्धान र खोज गरिनु पर्ने कुरा औल्याउनु भएको थियो ।