जनकपुरमा एक दिने जटजटिन नृत्य सम्बन्धी संगोष्ठी सम्पन्न

पुस ४ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागले प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य एवं नृत्य विभाग प्र्रमुख नमुना शर्माको अध्यक्षता तथा अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभरोस कापडीको प्रमुख आतिथ्यतामा मिथिला क्षेत्रका प्रसिद्ध लोकनृत्य जट जटिन नृत्य सम्बन्धी जनकपुरधाममा एक दिने संगोष्ठीको आयोजना सम्पन्न गरेको छ । 
कार्यक्रमा सहभागीहरुले जटजटिन नृत्यका विषयमा प्रकाश पार्नुका साथै यससँग जोडिएका सामाजिक तथा साँस्कृतिक विषयवस्तुमा प्रकाश गर्दै मिथिलाले अहिले पनि यसलाई संरक्षण गरेर राखेको बताए । मधेश प्रदेश सरकारले गठन गरेको मधेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति रामभोस कापडीले जटजटिन नृत्य मिथिलाको प्राचिन नृत्य भएको बताउँदै यस नृत्यले दिएको सन्देशका विषयमा प्रकाश पार्दै यसको संरक्षणमा कलाकारहरुले गरेको कामको प्रशंसा गर्नुभएको थियो । 
सो कार्यक्रममा साहित्यकार रोशन जनकपुरीले जटजटिन नृत्यको परम्परा तथा प्रयोग विषयमा ३३ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नुभयो । प्रस्तुत कार्यपत्रमाथि साहित्यकार एवं त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक श्याम सुन्दर शशीले टिप्पणी गर्नुभएको थियो । 


कार्यक्रमलाई सम्बोधन गर्दै मिथिला क्षेत्रको इतिहास, लोक संस्कृति, परम्परा तथा नृत्य निकै प्राचिन रहेको र यसको संरक्षणका लागि प्रज्ञा प्रतिष्ठान सदैव तत्पर रहेको बताउनु भयो । 
जटजटिन नृत्य समेत प्रस्तुत गरिएकोे कार्यक्रममा जटजटिन मैथिली गीतका गीतकार सुनिल मल्लिक, सङ्गीतकार अशोक दत्त, हिमांशु चौधरी, सुजित झा तथा कवि काशीकान्त झा सहितका साहित्यकार, कलाकार, नर्त, नृत्याङ्गनाहरुको उपस्थिति रहेको थियो । रामानन्द चोकस्थित सीता प्यालेसमा आयोजित कार्यक्रमको सहजीकरण गायक नवीन मिश्रले गर्नुभएको थियो ।