काठमाडौं, बिराटनगर र पाेखरामा  भारतीय कलाकार  रञ्जना फड्के र समूहको कथक नृत्यको प्रस्तुति ।

१९ असोज ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठान,  स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौं  तथा साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा  भारतकी प्रतिष्ठित कथक नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा ३ सदस्य कथक नृत्य समुहद्वारा कथक नृत्यहरुको प्रस्तुति रहेको Kathak Dance Recital कार्यक्रम काठमाडौंबाट १६  असाेजमा सुरु भएकाे  थियाे ।


Kathak Dance Recital कार्यक्रमकाे समुद्घाटन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीज्यूकाे  प्रमुख अतिथ्यतामा भएको थियाे ।

कार्यक्रममा विगत ३५ वर्षदेखि शास्त्रीय नृत्यको कथक विधामा सक्रिय मुम्बई, भारत निवासी नृत्य कलाकार तथा नृत्य गुरु रञ्जना फड्केको नेतृत्वमा ३ सदसीय कथक नृत्य समुहद्वारा भगवान शिव, कृष्ण, दुर्गा, पशुपतिनाथ र तीन तालमा आधारित ६ वटा कथक नृत्यहरुको मनमोहक प्रस्तुति दिनुभएको थियो । उहाँलाई युवा कलाकार सुरवी सिन्त्रे र रसिका गांगलले नृत्यमा साथ दिनुभएको थियो ।

कुलपति निशा शर्माले सांस्कृतिक आदानप्रदान मार्फत नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंद्वारा संयुक्त रुपमा आयोजित Kathak Dance Recital कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौंका निर्देशक डा। आसवरी बापटले संस्कृतिले भाईचारा र मेलमिलाप सिकाउने बताउँदै नेपाल र भारत सांस्कृतिक दृष्टिले समान रहेको बताउनुभयो ।
प्रमुख अतिथि राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी, पूर्व मन्त्री एवं संघीय संसद सदस्य गिरीराजमणि पोखरेल, डा‌ ‌‌आसवरी बापट, कुलपति निशा शर्मा एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक राईले संयुक्तरूपमा कलाकार समूहलाई खादा, रूद्राक्ष माला र मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रष्तिष्ठानका उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद सदस्य, सभा सदस्य, पूर्व पदाधिकारीहरु, भारतीय दूतावासका प्रतिनिधि एवं सङ्गीत, नृत्य, नाटक क्षेत्रका विशिष्ट स्रष्टा, सर्जक, कलाकार र विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

रञ्जना फड्केको समूहले नेपालका तीन स्थानमा कथक नृत्यको प्रस्तुतिहरु दिने कार्यक्रम रहेकोमा  दोस्रो प्रस्तुति असोज १७ गते विराटनगरस्थित आरोहण गुरुकुलमा र तेस्रो प्रस्तुति १९ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा रहने छ  ।