मगर जातिको सेदु, साइँलो र पूर्ख्याैली भाका अभिलेखिकरण सम्पन्न


जेठ १७ । म्याग्दी र आसपासमा गाइने मगर समुदायमा प्रचलित हाल लोपोन्मुख हुँदै गइरहेको भूमे पूजा गर्दा गाईने सेदु, साइँलो र अन्य समयमा गाइने पूर्ख्याैली गीत बेनीमा एक कार्यक्रमको आयोजना गरी छायांङ्कन एवं स्वराङ्कन कार्य सम्पन्न भएको छ । 

लोपोन्मुख रैथाने लोक संस्कृतिको खोज, अनुसन्धान र संरक्षण गर्ने प्रज्ञा प्रतिष्ठानको अभियान अन्तर्गत प्राज्ञ परिषद सदस्य लोक संगीत विभाग प्रमुख  हरिदेवीको संयोजनमा उक्त गीत प्रत्यक्ष रुपमा स्टुडियोमा रेर्कड एवं छायाङ्कन सम्पन्न भएको हो । लोक तथा दोहारी गीत प्रतिष्ठान म्याग्दीको सहआयोजनामा मगर समुदाय म्याग्दीको विशेष सहयोगमा अग्रज  सर्जक धनकुमारी थापाले सहजीकरण गरेको सो कार्यक्रममा म्याग्दी चिमखोला देखि कलाकारहरुको उपस्थिति रहेको थियो । 

प्रत्येक वर्षको चैत्र महिनाको उजेली पक्षको पहिलो मंगलबारका दिन गरिने भूमेपूजामा गाउने गीत नै सेदु  हो । भूमेको पूजा गरी सकेपछि उक्त गीत गाउँदै भूमेको मन्दिर (स्थान) वरीपरी महिला र पुरुषले समूहमा गीत गाउँदै घुम्ने प्रचलन रहेको छ । अन्न बाली राम्रो होस् र गाउँका सबैलाई शुभ होस् भनी विभिन्न देवी देउताको नाम लिँदै सूर्य, चन्द्र, तारा देखि प्रकृतिका सबै सिमेभूमेलाई पुकार्ने चलन हुन्छ । पूजामा हाँस्यव्यङ्य रसका गीत  गाउने र अभिनय पनि गर्ने गरिन्छ । पूजा सम्पन्न भए पछि घरतिर जानेवेलामा भने साइँलो भाका, भैच साइँलो भाका तथा पूख्र्यौली भाका पनि गाइने गरिन्छ । 

यस्ता अमूर्त सम्पदा ताथ संस्कृतिको उचित संरक्षण र प्रवद्र्धनको अभावमा लोपोन्मुख अवस्थामा पुगेकेमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले यस्ता सम्पदाको संरक्षण र सम्बद्र्धनमा चासो लिएर छायाङ्कन र स्वराङ्कन गर्ने काम गरेकोमा मगर समाज म्याग्दीले प्रतिष्ठानलाई आभार समेत व्यक्त गरेको छ । 
उक्त लोपोन्मुख भाकाको अभिलेखिकरण कार्य जेठ ११ देखि १४ गते सम्म चलेकोे थियो ।