नेपाली लोक दोहोरी गीतको अवस्था एवम् परम्परा  विषयक  संगोष्ठी सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गण्डकी प्रदेश र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, कास्कीको सह–आयोजनामा प्रतिष्ठानका पूर्व कुलपति, प्राज्ञ  एवम् वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठज्यूको  प्रमुख आतिथ्यतामा पोखरामा शुक्रबार  नेपाली लोक दोहोरी गीतको अवस्था एवम् परम्परा  विषयक  संगोष्ठी सम्पन्न भएको छ । प्रज्ञा परिषद् सदस्य एवम् लोक सङ्गीत विभाग प्रमुख हरिदेवी कोइरालाको संयोजनमा आयोजना भएको संगोष्ठीमा  डा। कुसुमाकर न्यौपाने र तुलसी प्रभासले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो। डा. न्यौपानेले नेपाली दोहोरी गीतका प्रकार र तिनिहरुको अवस्थाका बारेमा चर्चा गर्नु भयो भने प्रभासले नेपाली लोकगीतको सामाजिक प्रभाव र वर्तमान अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो । 


कार्यपत्र प्रस्तुत गर्दै डा. न्यौपानेले लोक तथा दोहोरी गीत संरक्षण गर्ने विभिन्न संघसंस्थाहरु हुँदा हुँदै पनि दोहारी गीतका प्रकारहरु संरक्षण हुन नसकी हराएर जाने अवस्थामा पुगेको बताउनु भयो । 
यस्तै नेपाली लोकगीतको सामाजिक प्रभाव र वर्तमान अवस्थाको चर्चा गर्ने क्रममा अनुसन्धानकर्ता तुलसी प्रभाषले दोहारी गीतको परम्परालाई नमारी समायानुकुल परिमार्जन र परिष्कृत गर्दै लैजानुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहनु भएका प्राज्ञ साहित्यकार श्रेष्ठले प्रतिष्ठानले विभिन्न उत्सव, महोत्सव, गोष्ठी लगायतका कार्यक्रमहरु मफोसलमा आयोजना गरिनु राम्रो शुरुवात भएको उल्लेख गर्दै प्रदेशस्तरमै लोक संस्कृति एवम् लोक संगीत्को संरक्षण गर्न अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि बजेटको राम्रो व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा संयोजकको जिम्मेवारी समाल्नुभएकी लोकसंगीत विभाग प्रमुख हरिदेवि कोइरालाले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै वार्षीक कार्यक्रम अन्तर्गत संगोष्ठी आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्ने क्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष रमेश वीजीले लोक गायकहरुले आफूँ मात्र बाँच्ने नभई लोक तथा दोहोरी गीत बचाउने तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो । यस्तै पदमराज ढकालले नेपाली लोक संस्कृतिमाथि विदेशी संस्कृति हावी हुँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो  भने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कास्की शाखाका अध्यक्ष टेक क्षेत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र गुरुङले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । 
  पोखरा र गण्डकी प्रदेशका कलाकारहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशका उपाध्यक्षले सञ्चालन गर्नु भएको  थियो।