छ जना स्रष्टालाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ समर्पण

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ समर्पण

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रपति कार्यालय शितल निवासमा एक समारोहको आयोजना गरी सङ्गीत तथा नाट्य क्षेत्रका छ जना वरिष्ठ स्रष्टा सर्जकहरुलाई सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीद्वारा नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७८ समर्पण गरिएको छ ।

प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठको सभापतित्व र सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारी प्रमुख आतिथ्यतामा नेपाली सङ्गीत, नाटक तथा नृत्य क्षेत्रमा अतुलनीय योगदानको कदरस्वरुप छ जना स्रष्टाहरु सम्मानित हुनुभएको हो ।

पुरस्कार समर्पण समारोहमा रङ्गमञ्च विधामा वरिष्ठ रङ्गकर्मी ऋद्धिचरण श्रेष्ठ, परम्परागत तथा शास्त्रीय सङ्गीत विधामा वरिष्ठ जलतरङ्ग वादक मोहनप्रसाद जोशी, नृत्य विधामा वरिष्ठ नृत्य निर्देशक वीणा राजभण्डारी जोशी, नाट्य विधामा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया, सङ्गीत विधामा वरिष्ठ सर्जक मोहनकृष्ण कार्की ढली तथा लोक सङ्गीत विधामा वरिष्ठ लोक सर्जक अमर विरही गुरुङ्ग गरी छ जनालाई छ वटा विधामा ताम्रपत्र तथा जनही एक लाख एक रुपैँया सहित सम्मान गरिएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुखहरुले सर्जक÷स्रष्टालाई प्रदान गरिएको ताम्रपत्र वाचन गरेर सुनाउनु भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली मौलिक कलाको खोजी गर्दै तिनलाई अन्तराष्ट्रियस्तरसम्म पु¥याउनु नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको दायित्व रहेको बताउनु भयो । उहाँले सम्मानित स्रष्टा तथा सर्जकलाई

बधाईतथा शुभकामना दिँदै राष्ट्रका यस्ता गहनालाई सम्मान गर्न पाउँदा हर्षको अनुभूति गरेको बताउनु भयो ।

समारोहलाई सम्बोधन गर्दै कुलपति नारायणभक्त श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले गरेका गतिविधिका बारेमा जानकारी गराउँदै अब छिट्टै नै भाडाको घरबाट आफ्नै प्रशासनिक भवनमा सरेर आगामी गतिविधिहरुलाई निरन्तरता दिने बताउनु भयो ।

समारोहमा उपकुलपति हरिहर शर्माले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै प्रज्ञा प्रतिष्ठानको स्थापना र यसका उद्देश्यमाथि प्रकाश पार्नु भयो ।

सदस्य सचिव श्याम तमाेटले सहजीकरण गर्नु भएकाे कार्यक्रममा तीनवटै प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानका पदाधिकारी, वरिष्ठ सर्जक स्रष्टा, कर्मचारी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।