थारु समुदायको लोपोन्मुख भाकाहरुको सङ्कलन सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख प्राज्ञ अशोक राईको पहलमा दाङ जिल्लामा बसोबास गर्ने थारू समुदायमा प्रचलित तर लोपोन्मुख अवस्थामा रहेका विभिन्न लोकभाकाहरूको स्थलगत अध्ययन–अनुसन्धान तथा सङ्कलन कार्य सम्पन्न भएको छ । 

 थारू समुदायले आप्ना विभिन्न चाडपर्व जस्तै दसैँका अवसरमा गाउने थरपैँया, माघे संक्रान्तिको अघिल्लो रात गाउने ढङरु र विभिन्न भेटघाट तथा विशेष अवसरहरूमा गाउने हुरडुङ्या भाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गरिएको  प्राज्ञ राईले बताउनु भयो ।  प्राज्ञ राईले दसैँका अवसरमा बजाइने बाइस् ख्वाट अर्थात २२ ओटा मादलका तालको श्रव्यदृष्य समेत कैद गरिएको बताउनु भयो । 

लोकभाका अध्ययन, अनुसन्धान तथा सङ्कलन सम्बन्धी कार्यको स्थानीय संयोजन कुलवीर चौधरीले गर्नु भएको थियो भने ढङरु भाका सङ्कलनमा घोराही–७ का बेझलाल चौधरीले हुरडुङग्या भाका, शान्ति नगर गाउँपालिका विष्णुदास चौधरीले धनौरा र थरपैँया भाका र बाइस् ख्वाट(२२ मादल)का तालको संयोजन घोराही–१० का चन्द्रप्रकाश चौधरीले गर्नु भएको थियो।सङ्कलित लोकभाकाहरू सम्बन्धी आलेखन थारू लोकगीत अध्येता डा। गोविन्द आचार्यले तयार गर्नुहुनेछ ।  
प्राज्ञ राईका अनुसार  प्राज्ञ सभा सदस्य चाँदनी मल्लको संयोजनमा दार्चुला जिल्लामा बसोबास गर्ने सौका जातिमा प्रचलित तीन ओटा लोकभाकाहरूको स्थलगत अध्ययन, अनुसन्धान तथा सङ्कलन कार्य सकिएको र चाँडै नै ती सबै लोकभाकाहरूको रेकर्डिङ गरिने जानकारी उहाँले दिनु भयो । लोपोन्मुख अवस्थामा रहेका नेपालका विविध समुदायका थुप्रै लोकभाकाहरुको संरक्षण, संवद्र्धन, प्रवद्र्धनका लागि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान निरन्तर लागिपरेको प्राज्ञ राईले बताउनु भयो ।