सप्तरीमा परम्परागत सङ्गीत, वाद्य, वादन केन्द्रित कार्यक्रम सम्पन्न

जेठ १६ गते ।  नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकाे अायाेजना तथा छिन्नामस्ता गाउँपालीका तथा मिथिला साहित्य कला प्रतिषठान नेपालकाे स्थानीय व्यवस्थापन तथा सहकार्यमा मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन केन्द्रित कार्यक्रम सुसम्पन्न गरेकाे छ।

प्रतिष्ठानको ‘एक प्रदेश, एक परम्परा’ कार्यक्रम अन्तर्गत मधेश प्रदेशमा प्रचलित मिथिलाको परम्परागत सङ्गीत कला, वाद्य, वादन सम्बन्धी कार्यक्रम जेठ १४ गते सप्तरी स्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर छेउको गाउपालिका कार्यलयको सभागृहमा सम्पन्न भएकाे हाे ।

‘परम्परागत तथा शास्त्रीय सङ्गीत’ विभाग प्रमुख थीरेन्द्र प्रेमर्षिको अध्यक्षता, मधेश प्रदेश सरकारका प्रवक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहको प्रमुख आतिथ्य र छिन्नमस्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विद्यानन्द चौधरीको विशिष्ट आतिथ्यमा कार्यक्रम आयोजना भएको थियो। मैसाप राजविराजका पूर्व अध्यक्ष, मिलाफ नेपालका संस्थापक अध्यक्ष देवेन्द्र मिश्र र मिलाफ नेपालका अध्यक्ष रमिला साहको समेत उपस्थिति रहेको थियो ।

वरही विरपुरका कलाकारद्वारा मिथिलाको लोक बाजा पिपही बजाउँदै कार्यक्रम शुरु गरिएको थियो । उक्त कार्यक्रममा मिथिलाको परम्परागत वाद्यवादनको अवस्था, यसको लोप हुनुको मुख्य कारण वा समस्या, संरक्षणको लागि गर्नुपर्ने प्रयास र समाधान सम्बन्धी प्रष्टपूर्वक मिलाफका संस्थापक अध्यक्ष मिश्रले कार्यपत्र प्रस्तुतिकरण गरेका थिए । प्रसिद्ध हास्यकलाकार जीवछ दास र संस्कृति अभियानी शम्भु श्रीले कार्यपत्र प्रति टिप्पणी गर्नुभएकाे थियाे ।

कार्यक्रममा परम्परागत ढोल, रसनचौकी (पिपही), नकुवा, मृदंग, डफरा, बौसली, भठिया–डिगड़ी, झुनझुना, झाईल, ताशा इत्यादि वादन–प्रस्तुत गरिएको थियो । छिन्नमस्ता १ विरपुरका कलाकारहरू तिलेश्वर राम, झवर राम, जोगिन्द्र राम, वद्री राम, राजदेव राम, डम्बर राम, कपलेश्वर राम लखन रामले ‘डफरा–बौसली’ प्रस्तुति गरेका थिए । छिन्नमस्ता ५ लोखरमका कलाकारहरु देव नारायण साह, तेतर खत्वे, तुलसी खत्वे, विश्वेशवर खत्वे, वरिष लाल खत्वे र झलेश्वर खत्वेले ‘भगैत गायन–वाद्यवादन’ प्रस्तुति गरेका थिए । यसैगरी किसन राम, मनोज रामसहितका १० जनाको समूहले ‘रसनचौकी’ प्रस्तुत गरे । मिलाफका सहसचिव तथा लोक गायक सुभास विरपुरियाले सम्पूर्ण प्रस्तुतिको संयोजन गर्नुभएकाे थियाे  र अन्तिममा विरपुरियाकै लिडिङ्गमा किरतनको प्रस्तुति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री साहले मधेश साहित्यकला प्रतिष्ठानको कार्यलाई अगाडि बढाउँदै ‘एक प्रदेश, एक परम्परा’ अभियानदेखि प्रभावित हुँदै यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो अभियानलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । नव निर्वाचित अध्यक्ष चौधरीले आफ्नो कार्यकालको पहिलो कार्यक्रममा सहभागी हुन पाउँदा प्रसन्न हुँदै समाजको विकृति चित्रण गर्दै संस्कृति संरक्षणका निम्ति प्रभावकारी एवम् सृजनात्मक पाईला उठाउने बताउनुभयाे ।

उक्त कार्यक्रम छिन्नमस्ता गाउँपालिकाका मिथिला साहित्यकला प्रतिष्ठान नेपाल (मिलाफ नेपाल) को संयोजन तथा स्थानीयहरुको व्यवस्थापन तथा सहकार्यमा संचालन भएको थियो । कार्यक्रमको संचालन मिलाफ नेपालका सचिव तथा सशक्त युवा साहित्यकार विद्यानन्द वेदर्दीले गर्नुभएकाे थियाे ।