वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको अध्ययन, अनुसन्धान र सङ्कलन कार्य सम्पन्न

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सङ्गीत विभाग प्रमुख  अशोक कुमार राईद्वारा ओलाङचुङगोलामा वालुङ समुदायको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गर्नुभएको छ ।
बहुजातीय, बहुभाषाभाषी र बहुधार्मिक, तथा बहुसाँस्कृतिक सम्पदाले भरिपूर्ण मुलुक नेपालमा प्राचिनकालदेखि बसोबास गर्दै आएका रैथाने आदिवासी जनजातिका विविध परम्परागत लोकसंस्कृति तथा लोकगीतहरू देशका लागि  बहुमूल्य सांस्कृतिक सम्पदाका रूपमा रहेका छन् । ओलाङचुङगोलाका बासिन्दा वालुङ जातिमा प्रचलित परम्परागत लोकभाका रहेको छ ।
 भौगोलिक रूपमा अत्यन्त विकट रहेको प्रदेश नम्बर एक, ताप्लेजुङ जिल्लाको ओलाङचुङगोलामा प्रचलित लोकभाकाको  प्राज्ञ राईले स्थलगत अनुसन्धान गर्नुभएको हो ।

नेपालको रैथाने संस्कृति तथा लोकभाका वालुङ लोकभाकाको स्थलगत अध्ययन, अनुसन्धान र सङ्कलन गर्नुभएका प्राज्ञ राईले ओलाङचुङगोलामा बसोबास गर्दै आएका वालुङ जातिमा प्रचलित वालुङ लोकभाकाको सङ्कलन उक्त भाकाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गरिएको बताउनुभयो ।

वालुङ लोकभाकालाई प्राज्ञिक सम्पत्ति बनाइने र वालुङ समुदायको संस्कार सस्कृतिका तस्बिर राखि बृतचित्र बनाई अभिलेखका रुपमा राखिने छ । वालुङ जातिमा घर सर्ने संस्कार, विवाह संस्कार र भेटघाट रमाइलो गर्ने संस्कारसँग सम्बन्धित फरक फरक लोकसङ्गीत तथा लोकभाका प्रचलनमा रहेको तर हाल विविध कारणले लोपोन्मुख अवस्था पुगेको पाएको पनि उहाँले बताउनु भयो ।

स्थानीय लोचक लामा रइतले अध्ययन, अनुसन्धान र सङ्कलनका लागि  सहजीकरण गर्नुभएको थियो भने स्थानीय याङमाक नुपुले लोकभाकाहरू संकलन गर्न सहयोग गर्नु भएको थियो ।